प्रधानमन्त्री खड्गप्रसाद ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको द्धन्द सतहमै देखिएको छ । सोमबार मात्रै नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गर्ने लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई तत्काल पक्राउ गर्न माग गर्र्दै प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरेका मेयर बालेनले आज फेरि अर्को प्रहार गरेका छन्
नाबालिका र सांसद शर्माको प्रकरणमा भ्रम फैल्याएको भन्दै मेयर बालेनले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाएका हुन् । ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनितिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा सुशासन अनुभुत गराउने भाषण दिँदै गर्दा आफ्नै दलकी प्रदेश सांसद शर्माले विगत ८ वर्षदेखि नाबालिकलाई घरेलु काममा लगाएर कुट्ने र शारीरिक शोषण गर्ने गरेको विषय बाहिरिएको २ महिना बितिसक्दा पनि न पार्टीगत न कानुनी दुबै तबरबाट कारबाही नगरेपछि बालेनले एकपछि अर्को प्रहार गरिरहेका हुन् ।
काठमाडौँस्थित सांसद शर्माको घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरले उद्धार गरेको थियो। हाल बालिकालाई संरक्षण गृहमा राखिएको छ । तर, परिवारलाई जिम्मा लगाइएको छैन । त्यसपछि बालिकाको बाबुले मेरो छोरी महानगरले अपहरण गर्यो भनी बन्दी बनाएको भन्ने रिट हालेको कुरालाई एमालेका कार्यकर्ताले भ्रममा सिर्जना गरेपछि बालेन आक्रोशित बनेका हुन् ।
आमा बाबु भएका बालबालिकाको जैविक आमा बुबा सँगै बस्न पाउने अधिकार हुन्छ, सर्वोच्चले त्यसको बारेमा पनि बोल्दै बाबु आमाले समेत भेट्न पाउने गरी महानगरपालिकाले बालिकाको पालनपोषण ,शिक्षादीक्षा र स्वास्थ्यको प्रबन्ध गर्नु भनी परमादेश दिएको अवस्था छ । तर यो द्वन्द्व बालिकाको आमा बाबुसँग नरहेको बालेनले प्रष्ट्याएका छन् । बालिकाको बाबु आमाले बालिकालाई महानगरकै संरक्षणमा रहने गरी जिम्मा दिएको उनकाे भनाई छ ।
मेयर बालेनले सोधेका छन्, ‘बालिकाको उद्धार त भयो तर बाबुआमा जीवित हुदाँहुदै बाबुआमाको काखबाट खोसेर यो हदसम्मको अन्याय र शोषण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ कि पर्दैन ?’
मेयर बालेनका अनुसार गत जेठ २५ गते देखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसद विरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ । यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरका विरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मा लाई विपक्षी बनाइ बालबालिका सम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २ ङ र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गर्छ ।
यता प्रहरीले घटनास्थल मुचुल्का लगायत अनुसन्धानको काम गर्दै गर्दा रेखा कुमारी शर्मा निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुग्छिन् । अदालतले अन्तरिम आदेश जारी गर्दै प्रहरीलाई धरपकड नगर्नु भन्दै आदेश गर्यो । उक्त मुद्दाको बहस र बालिकाको बाबुको सर्वोच्चको मुद्दाको बहस दुवैमा वरिष्ठ अधिवक्ता टङ्क प्रसाद दुलाल र विद्वान अधिवक्ता रेणुका सिटौलाले बहस गरेका थिए । यसले रेखा कुमारी शर्माकै डिजाइनमा बालिकाको बाबुले महानगरका विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट हालेको देखिदा उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने बालेनको भनाई छ ।































प्रतिक्रिया