काठमाडौँ
गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।
आज चैत ६ र भोली ७ गते मनाइने होली पर्वका अवसरमा देश/विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।
यसैविच होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस वर्षको होलीलाई लक्षित गरि काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना समेत लागू गरेको छ ।
प्रहरीले सकेसम्म होली पर्वलाई सुन्दर अनि शान्त पर्व बनाउने प्रयास गरेको बताएको छ । प्रहरीले यदि कसैको ईच्छा विपरीत रंग लगाईएको पाइएमा तुरुन्त पक्राउ गरि हिरासत लैजाने जनाएको छ । प्रहरीका अनुसार सबैलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोहोर्याए सार्वजनिक मुद्दा चलाइने जनाएको छ ।





























प्रतिक्रिया