असार सम्म नौ वटा आयोजनाको अध्ययन सकिने

असार सम्म नौ वटा आयोजनाको अध्ययन सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले चालू आर्थिक वर्षको अन्त्य सम्ममा कूल ३४० मेगावाट क्षमताका नौ वटा आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार अध्ययन सम्पन्न गरी ती आयोजनालाई निर्माणमा लैजाने तयारी गरिएको छ । मन्त्रालयका अनुसार चालू आवको अन्त्यसम्म अध्ययन सम्पन्न हुने आयोजनामा १०२ मेगावाट क्षमताको दूधकोशी पाँचौ, ५० मेगावाटको बेनी कालीगण्डकी, ४७ मेगावाटको दूधकोशी चार रहेका छन् ।

यस्तै ४१ मेगावाटको सङ्खुवा खोला, करीब ४० मेगावाटको सङ्खुवा खोला एक, ३२ मेगावाटको म्याग्दी खोला, १९ मेगावाटको तल्लो चमेलिया, पाँच मेगावाटको भेरी खोला र ४ दशमलव ४ मेगावाट क्षमताको लुन्ग्री खोला छन् ।

आर्थिक वर्ष २०७६/७७ भित्र कूल १४ आयोजनाको अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री पुनले जानकारी दिनुभयो । ती आयोजनाको क्षमता तीन हजार ६०९ मेगावाट रहेको छ । आगामी आवमा अध्ययन सम्पन्न हुने आयोजनामा अरुण चौथो ३७२ मेगावाट रहेको छ । यस्तै ९० मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ४९ मेगावाट क्षमताको लोती कर्णाली, ५६ मेगावाटको तल्लो अप्सुवा, ६७९ मेगावाट क्षमताको तल्लो अरुण, ३७७ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय आयोजना पनि अध्ययन सम्पन्न हुनेछ ।

यस्तै करीब सात मेगावाट क्षमताको पिखुवा खोला, नौ मेगावाटको रुपागाड, चार मेगावाटको न्याउरीगाड, करीब १८ मेगावाट क्षमताको जावा खोला, २० मेगावाटको कवाडी खोला, २७६ मेगावाट क्षमताको सेती खोला छैटौँ, एक हजार ११६ मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजनाको समेत अध्ययन सम्पन्न गरी निर्माणमा लैजाने गरी काम भइरहेको मन्त्री पुनको भनाइ छ ।
रासस

Skip This
Skip This
Logo