कार्यकर्तालाई सीके राउतको जवाफ, ‘जनमत संग्रह गर्ने भनिएको छैन’

कार्यकर्तालाई सीके राउतको जवाफ, ‘जनमत संग्रह गर्ने भनिएको छैन’

केन्द्रबिन्दु
0
Shares

सिरहा । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारसँग भएको ११ बुँदे सहमतिमा जनमत संग्रह भन्ने शब्द उल्लेख नभएको बताएका छन् ।

गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै राउतले ११ बुँदे सहमतिपत्रमा जनमत संग्रह भन्ने शब्द नराखिएको प्रष्ट पारेका हुन् । परिषद् बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिको बुँदागत र शब्द–शब्दमा छलफल भएको थियो ।

राउतले सरकारले जनतालाई सार्वभौम मानेको र जनताको अभिमत अनुसार अबको बाटो तय हुने भन्दै कार्यकर्तालाई प्रष्ट पारेका थिए । सम्बोधनको क्रममा जनमत संग्रह भन्ने शब्द उच्चारण समेत नगर्दै सीके राउतले जनताको चाहना अनुसार नै अबको बाटो तय हुने धारणा राखेका थिए ।

सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी सरकारसँग सहमति किन गरिएको भन्दै बैठकमा सहभागी नेताहरुले प्रश्न राखेका थिए । जवाफमा राउतले आफूले सरकारसँग सरकार जाने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी कुनै सहमति नगरेको बताए ।

हल्लाको पछि नलाग्न अनुरोध गर्दै भने, ‘मैले कुनै पनि पदमा नजाने भनेर लिएको प्रणमा म अडिग छु। राष्ट्रियसभा र सरकारमा जाने हल्ला उठाइएको छ। यसको पछि नलाग्नुस् तपाईँहरु । यस्तो खालको कुनै सहमति भएको छैन ।’

आइतबार राति १० बजेसम्म संयोजक राउतले नेता तथा कार्यकर्ताहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । परिषद् बैठकमा आजदेखि सांगठनिक संरचनाबारे छलफल सुरु हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए । सिरहाको लहानमा गठबन्धनको परिषद् बैठक बसिरहेको छ ।

Logo