सहमति खोज्दै कांग्रेस नेताहरु

सहमति खोज्दै कांग्रेस नेताहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेसभित्र पार्टी अनुशासन समिति गठनमा अझै सहमति जुट्न सकेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा आइतबार अपराह्न आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सहमतिको प्रयास गरेका छन् । दुवै पक्षीय नेताहरु पूर्ववत् अडानबाट लचिलो देखिए पनि सहमति जुट्न भने सकेको छैन ।

नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट नेताहरु सबैलाई स्वीकार्य हुने नेताको संयोजकत्वमा अनुशासन समिति गठन गर्नुपर्ने पुरानो अडानमा केही लचिलो देखिएका छन् । केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा समिति गठनका लागि सकारात्मक देखिए पनि समितिको प्रतिवेदन पनि सहमतिबाटै आउनेगरी ‘लिखित सहमति’ गरिनुपर्ने उनीहरुको माग छ ।

सभापति देउवासहित संस्थापन पक्ष लिखित सहमतिको पक्षमा नभए पनि सहमतिबाटै अनुशासन समितिको प्रतिवेदन तयार गर्ने मौखिक समझदारीका लागि तयार देखिएको छ । अनुशासन समिति पार्टीको न्यायिक निकाय भएको जनाउँदै असन्तुष्ट पक्षले सहमतिबाटै अनुशासन र निर्वाचन समिति गठन गर्नुपर्ने अडान दोहो¥याएका थिए ।

आफू सहमतिको विपक्षमा नरहेको जनाउँदै सभापति देउवाले त्यसकै लागि अहिलेसम्म कुरेको धारणा राखेका थिए । अब पार्टीलाई अनिर्णयको बन्दी बनाइराख्न नहुने धारणा राख्दै देउवाले नेता पौडेलसहितका असन्तुष्ट नेताहरुसँग अनुशासन समितिमा राख्ने दुई नेताको नाम दिन आग्रह गरेका थिए । ‘एक्लै समिति गठन गर्ने र सहमति नगर्ने भए पाँचैजना राखेर समिति गठन गर्थे,’ देउवालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सहमतिकै लागि अहिलेसम्म कुरेको हुँ र दुईजनाको नाम दिन भनेको हो । अब ढिला भयो ।’

बहुमत र अल्पमतबाट प्रतिवेदन बन्ने र कारबाहीको सिफारिस हुँदा पार्टीमा थप समस्या आउन सक्ने जिकिर गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘बहुमत र अल्पमतबाट होइन, सहमतिबाट मात्र प्रतिवेदन पेस गर्ने अधिकार राखौं भन्ने कुरालाई पनि सभापतिसहित उहाँ पक्षका नेताहरुले स्वीकार गर्नुभएन।’ असन्तुष्ट पक्ष सहमतिबाट समिति गठन नभए केन्द्रीय समिति बैठक बहिष्कार गर्ने पक्षमा छ। ‘हामी बिहान बसेर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं,’ असन्तुष्ट पक्षका एक नेताले भने ।
नागरिकबाट

Logo