हरितालिका तीजको समापन

हरितालिका तीजको समापन

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्वको ब्रत बसेका ब्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी ब्रत समापन गरेका छन् । सामान्यतया अरू ब्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीजको ब्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका ब्रतालुले पनि ब्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा ब्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार ब्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको ब्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । बिहीबार राति दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजागरी तीज समापन हुन्छ ।

Logo