विमानस्थलमा यात्रुको खादा फुकाल्न लगाएकोबारे प्रहरीले भन्यो- अनुसन्धान हुँदैछ

विमानस्थलमा यात्रुको खादा फुकाल्न लगाएकोबारे प्रहरीले भन्यो- अनुसन्धान हुँदैछ

केन्द्रबिन्दु
636
Shares

अहिले सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा भिडियो भाइरल भइरहेको छ, त्यो हो विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले गरेको दुर्व्यवहारको । सार्वजनिक भिडिओमा विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीहरूले एक यात्रुले लगाइरहेको खादा खोस्न खोज्छन्, प्रहरीले खादा समात्दै ‘यो खोल्नु भनेको’ कुरा भिडिओमा सुनिन्छ। तर, पछि यात्रु आफैँले खादा खोल्छन् ।

अझ भिडियो पनि खिच्न नपाउने भन्दै क्यामेरा बन्द गराउन लगाउँछन् तर, जसोतसो ती युवकको पछाडि रहेका अर्का युवकले यो क्लिप चाँही रेकर्ड गर्छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालभर निकै भाइरल छ र प्रहरीमाथि गालीको वर्षा भएको छ ।

विमानस्थल स्रोतका अनुसार यात्रुले विमानस्थलमा डिपार्चरबाट भित्र प्रवेश गर्दा खादाहरू लैजान पाउँदैनन्। विगतमा माइकिङ गरेरै यात्रुलाई जानकारी दिने गरिन्थ्यो। तर, अहिले छाडिएको छ । प्रहरी आफैले आग्रह गर्दै भित्र नलैजान भन्छ । सोही क्रममा यो भिडियो बाहिरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी डम्बरबहादुर विश्वकर्माका अनुसार यो घटनामा अनुसन्धान भइरहेको छ । आजै सुरक्षामा खटिएका प्रहरीहरूलाई यात्रुलाई असल व्यवहार गर्न र आफ्नो व्यवहारमा सुधार गर्ने निर्देशन दिने उनको भनाई छ ।

Logo