गायक योगेश्वर अमात्यले १२ वर्षपछि ल्याए नयाँ गीत ‘कुनै दिन’ [भिडियोसहित]

गायक योगेश्वर अमात्यले १२ वर्षपछि ल्याए नयाँ गीत ‘कुनै दिन’ [भिडियोसहित]

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ । शनिवार साँझ काठमाडौँको दरबारमार्गमा आयोजित विशेष कार्यक्रममा अमात्यले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् । करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन् । सरोज बास्तोलाले रचेको यस गीतलाई सुरुवातमा २०५१ सालमा यसका सङ्गीतकार ओमविक्रम बिष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए । तर, विभिन्न कारणले गीतलाई त्यति बेला सार्वजनिक गर्न सकिएको थिएन । हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियोसहित प्रस्तुत गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छिन् । म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय गरेका छन् । भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ । भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम ‘माइकल’ले गरेका छन् भने सह–निर्देशन साईव्रत आचार्यको छ ।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक तथा रङ्ग संयोजक विकाश दाहाल हुन्। मेकअप र हेयर डिजाइन सुप्रिया आरएल शाहले गरेकी छिन् भने स्टाइलिस्ट अशिम रानाभाट रहेकी छिन् । यस म्युजिक भिडियोको पोस्टर डिजाइन विजय बस्यालले तयार पारेका हुन् ।

गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने गीतको रेकर्डिङ र भिडियोको ब्याकग्राउन्ड स्कोर जेम्स प्रधानले गरेका छन् । अडियो मिक्सिङ र मास्टरिङ दिपेश प्रधानद्वारा सम्पन्न भएको छ। रेकर्डिस्टको रूपमा बिजेन श्रेष्ठले योगदान दिएका छन्।

अमात्यका ‘जब सन्ध्या हुन्छ, लैजा चरी, सिन्धुली गढी, म मरे पनि मेरो देश मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीतहरू अत्याधिक लोकप्रिय छन् । अमात्यको यस नयाँ गीतले दर्शकहरूलाई पुनः उनीप्रति आकर्षित गराउने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo