काठमाडौँ
अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।
यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’
कोरियाली कम्पनी मोट्रेक्सले प्लान्टले स्थापनाको ५ वर्षभित्र क्रमिक रूपमा बढाउँदै वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यस्तै प्लान्ट स्थापना गरेर पूर्ण क्षमतामा सञ्चालनमा आउँदासम्म वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्ने कम्पनीको तयारी छ । सुरुमा कम्पनीले सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै नेपालमा गाडी एसेम्बल मात्र गर्नेछ । तर क्रमशः नेपालभित्रै पार्टस समेत उत्पादन गर्दै जाने अवधारणा कम्पनीको छ । ‘अन्य देशमा पनि सुरुमा प्लान्ट स्थापना गर्दा पार्टसहरु आयात नै गर्ने चलन छ,’ सिइओ अधिकारीले भने, ‘क्रमशः आफैँले उत्पादन गरेर गाडीका धेरैजसो सामान आफैँले उत्पादन गर्ने गरिएको विश्व अभ्यास पाइन्छ ।’
नेपालमा गाडी उत्पादन भएसँगै स्वदेशी बजारमा खपत हुने , नहुने भन्ने अध्ययन कम्पनीले गरिरहेको छ । ‘प्रतिस्पर्धी मूल्य भयो भने नेपाल र छिमेकी मुलुकका बजारमा समेत सो गाडी खपत हुन सक्छ,’ सिइओ अधिकारीले भने, ‘नेपालमै उत्पादन गर्दा ४० प्रतिशतसम्म मूल्य कम हुने आकलन कम्पनीको छ । यसले गर्दा बजार पाउने विश्वास गर्न सकिन्छ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया