कांग्रेसले माग्यो उपसभामुख रानामगरको राजीनामा

कांग्रेसले माग्यो उपसभामुख रानामगरको राजीनामा

केन्द्रबिन्दु
126
Shares

संसदकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको र यसले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो ।

बैठकपछि पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैंले बुझेर राजीनामा दिनु राम्रो हुन्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको छ । यो चानचुने कुरा होईन । अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम उपसभामुखले कुनै पनि हालतमा लेखेर कुटनैतिक योगलाई त्यस्तो खालको सिफारिस गर्नै मिल्दैन। यो कामले संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो भनाई छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर पनि झुकाएको छ भन्ने काङ्ग्रेसको भनाई छ ।’

उनले संसदको उपसभामुख जस्तो पदमा बसेर अनुचित काम गरेर कुरामा दुविधा नरहेको भन्दै यसबारेमा छलफल भएको बताए । यसबारेमा कसरी जाने भन्ने कुरामा सत्तारुढ दलहरुबीच पनि छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनको भनाई छ ।

साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समितिहरु बनाउने र अन्य पार्टीका आन्तरिक विषयहरुको बारेमा छलफल भएको पनि बताए ।

Logo