काठमाडौं ।
युवा खेलाडी विकासमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयबीच ऐतिहासिक सम्झौता भएको छ । एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसँग ६ वर्षको सम्झौता गरेको हो ।
सम्झौता अनुसार युवा खेलाडी विकासका लागि नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापना गरिनेछ । एन्फा र एपीएफ दुवै पक्षले युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै व्यवसायीक फुटबलमा अघि बढाउने महत्वकांक्षी योजनामा हस्ताक्षर गरेका छन् ।
‘एपीएफको विद्यालयलाई फुटबल एकेडेमीको रुपमा स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्न पाउँदा निकै गर्व महशुश भइरहेको छ । यो खेलाडी तथा प्रशिक्षकको विकासका लागि ऐतिहिासिक सम्झौता हो । धेरै क्षमता भएका नेपाली फुटबलरको बाटो खोल्ने हाम्रो लक्ष्य हो ।’ सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।
सम्झौता पत्रमा एन्फा अध्यक्ष शेर्पा र नेपाल एपीएफका पुष्पराम केसीले हस्ताक्षर गरेका थिए । युवा खेलाडीको विकासमा एन्फा र एपीएफ स्कुलको फुटबल एकेडेमीले मिलेर काम गर्नेछन् ।
एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टिमले देशभरबाट २१ खेलाडी छनोट गर्नेछ । जसमा १४ खेलाडी एन्फा र एपीएफले प्रायोजन गर्नेछन् । दुवै पक्षले खेलाडीको कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च बेहोर्ने छन् । एकेडेमीमा एन्फाका दक्ष प्रशिक्षकले अभ्यास गराउनेछन् ।
‘एपीएफ स्कुल एन्फासँग सहकार्य गर्न पाउँदा खुसी छ । क्षमता भएका खेलाडी राष्ट्रका लागि निर्माण गर्ने अभियानमा एन्फासँग सहकार्य गर्न तयार भएका छौं ।’ एपीएफका आईजीपी शैलेन्द्र खनालले भने ।































प्रतिक्रिया