सरकार- ‘१० औंला जोड्छौं वार्तामा आउनुहोस्’ विप्लव- ‘स्वागत योग्य कदम’

सरकार- ‘१० औंला जोड्छौं वार्तामा आउनुहोस्’ विप्लव- ‘स्वागत योग्य कदम’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्वागत योग्य भनेको छ । सरकारले वार्ताका लागि गरेको आह्वान स्वागत योग्य रहेको तर ढिलो भएको प्रतिक्रिया दिएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताए ।

बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै विप्लव समूहलाई वार्ताको लागि आह्वान गरेका थिए ।

सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताउँदैं भनेका थिए, ‘हामी विप्लव समूहलाई दश औँला जोडेर रातो कार्पेट ओछ्याएर बिन्ती गर्छौ हिंसात्मक गतिविधि छोडेर वार्तामा आउनुहोस् ।’

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक गतिविधि गरेको भन्दै विप्लव समूहलाईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको कार्कीको भनाई छ ।

एकातिर प्रतिबन्ध लगाउने भन्ने निर्णय गर्ने, अर्कोतिर वार्ताका लागि बोलाएको जस्तो गर्नु सरकारको द्वैध चरित्र भएको उनको भनाई छ । वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भएपनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको उनले बताए ।

पार्टीले एकीकृत जनक्रान्तिको बाटो अंगालेर अघि बढेको भन्दै उनले स्वाधीन अर्थतन्त्रको विकास, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार जस्ता व्यवस्था स्थापित नहुँदासम्म आफ्नो पार्टी लडिरहने बताए । यो राज्यसत्ता भंग गर्दै एकीकृत जनक्रान्तिमार्फत राज्यसत्ता स्थापित गर्ने अभियानमा आफूहरु अघि बढेको कार्कीको भनाई छ ।

Logo