बिचौलियाले नै चलाउँछन् वीरगन्ज यातायात कार्यालय

बिचौलियाले नै चलाउँछन् वीरगन्ज यातायात कार्यालय

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको अखडा भएको छ । सेवाग्राही कार्यालय पुग्दा कर्मचारीहरूले सीधै बिचौलिया मार्फत आए मात्र काम गरिदिने वातावरण बनाउने गर्छन् ।

सेवाग्राहीको काम गरेवापत बिचौलियाले अतिरिक्त पैसा लिने गरेका छन् । जसमा प्रत्येक कामका लागि उनीहरूले लिने रकमको शुल्क निर्धारण नै गरेका छन् । वीरगन्ज रानीघाटका शिवालकप्रसाद गुप्ता मोटरसाइकल बिक्री नामसारी गर्न यातायात व्यवस्था कार्यालय पुगेका थिए ।

राजस्व भुक्तानी र बिमाको कागजात लगायत सबै प्रक्रिया भएर दुवै पक्षको नागरिकता सनाखतपछि अधिकृतको अन्तिम सही बाँकी थियो । तर उनीहरू बिचौलियाको शरणमा नपुगी काम नहुने भयो । दिउँसो १ बजे गायब भएका दुई अधिकृत डेढ बजेसम्म फाँटमा फर्केनन् । फाइलको चाङ लागिसकेको थियो । कार्यालय प्रमुखसँग आफैं सही गराएर ल्याउँछु भनेर बिचौलियाले लगे । नत्र हाकिमले सही नगर्ने ती बिचौलियाले भनेका पनि उनले सुनाए ।

फाँटका अधिकृतलाई छोडेर सीधै हाकिमकहाँ फाइल लगे गडबडी छ भनेर सही नगर्ने बिचौलियाले बताउने गुप्ताले सुनाए । तर गुप्ताले उक्त कुरा टेरेनन्, आफैंले फाइल लिएर गए । तर, बिचौलियाले भने जस्तै भयो । कार्यालय प्रमुख उपेन्द्र महतोले सही गर्न मानेनन् ।

सेवाग्राहीका अनुसार अतिरिक्त आर्थिक उपार्जनको लोभमा कार्यालयलाई बिचौलियाको अखडा बनाइएको छ । यस कार्यालयले पर्सा, बारा र रौतहटसम्मको यातायात व्यवस्था सम्बन्धी काम गर्ने गर्छ ।

बिचौलियाको हातबाट गएको फाइल कर्मचारीले सजिलै अगाडि बढाउँछन् । सेवाग्राहीले लैजाँदा सुनुवाइ हुँदैन । कुनै पनि टेबुलमा वा कुनै कर्मचारीको हातमा रावस्वको अतिरिक्त लेनलेन भने हुँदैन । ‘यति रुपैयाँ खर्च लाग्छ’ भन्दै बिचौलियाले एकमुष्ठ रकम तय गर्छन् । कार्यालय परिसर र बाहिर दर्जनौं बिचौलिया छन् ।
नागरिकबाट

Logo