जनयुद्धलाई एमालेले अपमान गरेको माओवादीको निष्कर्ष, हिंसा शब्द नहटाएसम्म अवरोध गर्ने

जनयुद्धलाई एमालेले अपमान गरेको माओवादीको निष्कर्ष, हिंसा शब्द नहटाएसम्म अवरोध गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जनयुद्धको विषयमा समाधान नभएसम्म संसद अवरोध गर्ने निर्णय गरेको छ । शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै अभिव्यक्ति फिर्ता नलिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘माओवादी जनयुद्धलाई एमालेद्वारा अपमानित गरेको छ । हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढंगले आएको छ । आगामी दिनम त्यसको सशक्त प्रतिवाद गर्नेगरी समाधान नभएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।’

सभामुख देवराज घिमिरेले बुधबार हिंसा शब्द ‘असंसदीय’ नरहेको भन्दै संसद्को अभिलेखबाट नहटाउने निर्णय भएको जानकारी सभालाई गराएपछि एमाले माओवादी आमन्नेसामन्ने भएका हुन् । सभामुख घिमिरेले निर्णय सुनाउँदा ‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था, २०८१ भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई विचार गर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको’ बताएका थिए। तर, माओवादी केन्द्रका सांसदले सभामुखको निर्णयमा चित्त बुझाएनन्। र विरोधमा उत्रिए । एमाले फेरि सभामुखकै बचाउमा उत्रिँदा बैठक नै स्थगित बन्न पुगेको थियो ।

Logo