विप्लवको बन्द: उपत्यकामा आंशिक प्रभाव, मकवानपुरमा ट्रकमा आगजनी

विप्लवको बन्द: उपत्यकामा आंशिक प्रभाव, मकवानपुरमा ट्रकमा आगजनी

केन्द्रबिन्दु
0
Shares

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यका लगायत देशका विभिन्न शहरमा न्यून देखिएको छ ।

सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् भने बन्दलाई निस्तेज पार्न राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । विभिन्न पूलको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । सार्वजनिक सवारी सञ्चालनमा आएपनि कतिपय विद्यालय भने आज बन्द रहेका छन् ।

मकवानपुरको थाहानगरमा अज्ञात समुहद्वारा ट्रकमा आगजनी

यता त्रिभुवनराजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं ४ नयाँगाउँमा नचिनेका समूहले ट्रकमा आगजनी गरेको छ ।

गएराती पौने १२ बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेको पूर्वसन्ध्यामा गुडीरहेको उक्त गाडीलाई रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको चालकले जानकारी दिए । मास्क लगाएका एक समूहले ट्रकमा आगजनी गरेको बताइएको छ । घटनाको कुनै पनि समूहले जिम्मा लिएको छैन । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो ।

Logo