नेपालमा राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह

नेपालमा राजदूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह

केन्द्रबिन्दु
75
Shares

काठमाडौँ । क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा क्यानडाको राजदूतावास आवश्यक भएको बताएकी छिन् । उनले दूतावास स्थापनाका लागि क्यानडा सरकारलाई आग्रह गरेकी हुन् ।

क्यानेडियन विदेशमन्त्री मेलानी जोलीसँग ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।

‘अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानेडियन पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरू पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरू आदानप्रदान भइरहेको छ,’ उनले भनिन्, ‘त्यसैले क्यानडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । क्यानेडियन विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा क्यानाडा पुगेकी हुन् ।

क्यानडा र नेपालबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदै छन् ।

Logo