काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनसँगै अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले संविधान संशोधनमा जादैँ गर्दा भ्रष्टाचार र संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउछ कि पाउदैँन भन्ने कुरा मुख्य हुने बताए ।
उनले भने,‘संविधान संशोधन त गर्नैपर्छ तर संशोधन गर्दैगर्दा अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा त्यो कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्नुपर्छ । संशोधनमा जादैँगर्दा केही विषयहरु यस्तो छन् जुन विषयमा तपाइँले नागरिकलाई जवाफ दिनुपर्ने हुन्छ । त्यसमध्ये एउटा भ्रष्टाचार र अर्को यो संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउछ कि पाउदैँन् भन्ने कुरा हो ।’
उनले बितेको ७० वर्षमा पाँच वर्ष लगातार कोही पनि प्रधानमन्त्री बन्न नसकेको भन्दै संविधान संशोधन गर्ने भन्दै गर्दा यो विषयको खोजी गर्नुपर्ने बताए । उनले भने,‘बितेको ७० वर्षमा पाँच वर्ष लगातार कोही पनि प्रधानमन्त्री बनेको छैन् । संविधान संशोधन गर्ने भन्दै गर्दा यो विषयको खोजी गर्नुपर्छ कि पर्दैन् । अब संविधान संशोधन गरेपछि देशलाई कसरी आश्वास्त गरिने हो ।’
मौलिक हक भनेर पहिचान गरेका कुरालाई सम्पादन गर्नको लागि राष्ट्रको सामथ्र्यलाई अभिवृद्धि गर्ने सन्दर्भमा कता चुक्यो त्यसको समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘संविधान किताबमा छापिएको माछा जस्तो भएछ । हेर्दा राम्रो देखिन्छ । तारेर खान नमिल्ने रहेछ । मौलिक हक भनेर पहिचान गरेका कुरा जे छन् त्यसलाई सम्पादन गर्नको लागि राष्ट्रको सामर्थलाई अभिवृद्धि गर्ने सन्दर्भमा हामी कता चुक्यौ त्यसको समिक्षा गर्नुपर्छ ।’





























प्रतिक्रिया