केडिया अपहरण काण्डमा प्रहरीले पनि ३० लाख लिएको दाबी

केडिया अपहरण काण्डमा प्रहरीले पनि ३० लाख लिएको दाबी

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

उद्योगी सुरेश केडियाको अपहरणकाण्डका मुख्य नाइके भारतीय नागरिक बब्लु पासवानले अपहरणका बेला नेपाल प्रहरीले पनि मोटो रकम लिएको आरोप लगाएका छन् ।

उद्योगी केडियाको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले गत बिहीवार भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट भारत बिहारको रक्सौल नगर परिषद् वडा नम्बर १७ का ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्राम पन्चायत वडा नम्बर ३ का २५ वर्षीय नन्की भन्ने विजय महतो कुशवाहालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरणकाण्डका मुख्य नाइके भनिएका पासवानले केडियाको अपहरणपूर्व नै आफूहरूले बाराका प्रहरी अधिकारीहरूलाई १८ लाख भारु (करिब ३० लाख नेपाली रुपैया) बुझाएको बताएका हुन् । तर उनले रकम कसले लिएका हुन् भन्ने खुलाएनन् ।

केडियालाई अपहरण गरेर भारतीय भूमिसम्म लैजाने क्रममा बाटोमा नेपाल प्रहरीले कुनै प्रकारको रोकटोक नगर्ने शर्तमा उक्त रकम बुझाइएको पासवानले बताए । अपहरणका मुख्य योजनाकार बब्लु दुवे भन्ने मिथिलेश मिश्राले १८ लाख भारु ( ३० लाख नेपाली रुपैयाँ ) बुझाएपछि प्रहरी अधिकारीले कुनै समस्या हुँदैन भनेको पासवानले सुनाए । केडिया अपहरणमा प्रहरी अधिकारीको पनि संलग्नता रहेको उनको दाबी छ ।

पत्रकार सम्मेलनमा पासवानले अपहरणकाण्डका मुख्य योजनाकार रहेका कुख्यात अपराधी भारतीय नागरिक बब्लु दुबे भन्ने मिथिलेश मिश्रको हत्या आफूले नै गरेको दाबी पनि गरे ।
अन्नपूर्णबाट

Logo