पाटनमा चंगाको व्यापार बढ्यो, असनमा खस्कियो

पाटनमा चंगाको व्यापार बढ्यो, असनमा खस्कियो

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएको छ । दशैँ तिहारको मौसम चंगा उडाउनका लागि उपयुक्त मानिन्छ ।

दशैँतिहारको मौसममा चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ । आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दशैँ आउँदै छ भन्ने महसुस गर्छन् ।

विगतमा भन्दा यो वर्ष चंगाको व्यापार अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन् । व्यापारीहरूलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड देखिन्छ । तर सधैँ घटस्थापनादेखि चंगा व्यापार बढ्ने चंगा व्यवसायीहरूको भनाइ छ ।

दशैँमा चंगा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकीन तथ्य त छैन । तर, बुढापाखाहरूका अनुसार दशैँमा चंगा उडाउने प्रचलन धेरै पुरानो हो । दशैँमा चंगा उडाउने प्रचलन धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चंगा उडाउने प्रचलन सुरु भएको बताइन्छ ।

यद्यपि, यसवर्ष तुलनात्मक रूपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारका व्यापारीहरूलाई चंगा बेच्न भ्याइनभ्याइ भइरहेको छ । विगत ४० वर्षदेखि चंगाको व्यापार गर्दै आइरहेकी गंगा लक्ष्मी पनि कोरोनाको समयमा व्यापार घटे पनि यो वर्ष राम्रै व्यापार भइरहेको बताइन् ।

उनलाई चंगा बनाउन र बेच्न भ्याइनभ्याइ छ । दशैंको समयमा धेरै चंगा व्यापार हुने भएकाले उनको पुरै परिवार नै दिनभर चंगाको व्यापार गर्न सक्रिय छन् । गंगा लक्ष्मी दशैंको समयमा चंगा बेचेरै आठदेखि नौ लाख रुपैयाँ कमाउने गरेको सुनाउँछिन् ।

उनले भनिन्, ‘व्यापार गर्न थालेको ३०–४० वर्ष भइसक्यो । पहिलाभन्दा अहिले व्यापार गर्न सजिलो पनि छ । पसलहरू धेरै खुले पनि चंगाहरू होलसेलमा भारतबाट ल्याउँदा राम्रै आम्दानी हुन्छ । एक्लैलाई थेग्न गाह्रो भएकाले परिवारनै सक्रिय भएका हौँ । भीडभाड बढी हुने भएकाले छोरा, श्रीमान् र नन्द मिलेर व्यापार गर्छौँ । दशैंको समयमा आठदेखि नौ लाख रुपैयाँ कमाउँछौँ ।’

यस्तै पाटनका अर्का व्यापारी किशोर देउलाले पनि यो वर्ष चंगाहरूको राम्रो व्यापार भइरहेको बताए । उनले पहिलाभन्दा अहिले चंगा व्यापारले राम्रो फट्को मारेको बताए । उनले चंगा कतिपय आफैँ बनाउने र कतिपय भारतबाट ल्याउने गरेको बताउँछन् । चंगा उडाउनका लागि धागो उनी आफैँ निर्माण गर्छन् । चंगा बेचेर खान बस्नको र अन्य सामान्य आवश्यकता पूर्ति गर्न सहजता भएको उनी बताउँछन् ।

उनले भने, ‘व्यापार राम्रो छ अहिले । पहिलाको भन्दा अहिले व्यापार धेरै बढेको छ । पहिला टिपीकल नेवारहरू मात्र चंगा उडाउने गर्थे भने अहिले गैरनेवारहरूले पनि चंगा उडाउन थालेकाले व्यापार राम्रो हुँदै गएको छ । राजधानीमा मात्र नभएर योभन्दा बाहिर पनि चंगाको डिमान्ड बढेको छ । कतिपय चंगा आफैँ निर्माण गर्छौँ भने कतिपय भारतबाट ल्याएर बेच्ने गर्छौँ । कोरोनाकालमा चंगा व्यापारी संकटमा परेका थिए भने अहिले आफ्नो लय समातेको छ ।’

यस्तै व्यापारी देउलाले सामाजिक सञ्जालले पनि व्यवसायमा सहजता प्रदान गरिरहेको बताए । उनले फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा विज्ञापन गरिरहँदा चंगा राम्रो आम्दानीको स्रोत बन्न सकेको बताए । चंगाको मूल्य पनि पाँच रुपैयाँबाट सुरु भएर सबैभन्दा महंगो कपडाको पाँच सय रुपैयाँसम्म रहेको बताए । स्वदेशी सामान सस्तो समेत भएकाले चंगा बनाउन सहज भएको उनको भनाइ छ ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंगाले स्थान ओगटेको छ । चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो प्रयोग गर्नुपर्ने व्यापारीहरूको भनाइ छ । चंगा नेपालमा मात्र नभएर विभिन्न विदेशमा पनि उडाइन्छ । नेपालमा भने दशैँमा परिवार तथा साथीभाइसँग रमाइलो गर्न उडाइन्छ । किनभने असोज कार्तिकको समय हावाको गति चंगाका लागि अनुकूल हुने गरेको व्यवसायीहरूको बुझाइ छ । तर, नेपालमा चंगा उडाउनुको अर्थ बेग्लै छ ।

तर पाटन, मंगलबजारका व्यापारीहरू जति खुशी छन् काठमाडौँ असन क्षेत्रका चंगा व्यापारी सुरेश सुचियाल भने निराश देखिन्छन् । दशैँका बेला पनि चंगाको व्यापार गरेर पैसा कमाउन नसकेको उनी सुनाउँछन् । उनले चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका कारण चंगा व्यापार राम्रोसँग हुन नसकेको बताए । उनले चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेको बताए ।

सुरेश चंगा बेच्ने मात्र होइन, आफैँ बनाउँछन् । तर चंगा अघिल्लो वर्ष राम्रो बिक्री भए पनि यस वर्ष व्यापार घटेको उनको भनाइ छ । उनले भने, ‘अहिले चंगाको व्यापार धेरै राम्रो छैन । पोहोरसाल भन्दा यो साल कम व्यापार भएको छ । ग्राहकहरूको संख्या त्यति बाक्लो छैन । सबै जना विदेश गइरहेका छन् । केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका छन् । चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेका छन् ।’ काठमाडौँका असन, इन्द्रचोक क्षेत्रका चंगा पसलहरूमा तुलनात्मक रूपमा ग्राहकहरूको संख्या न्यून नै देखिन्छ ।

Logo