साफ यू–१७ फुटबलअन्तर्गत सेमिफाइनलका खेलहरू आज, पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

साफ यू–१७ फुटबलअन्तर्गत सेमिफाइनलका खेलहरू आज, पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप फुटबलअन्तर्गत दुवै सेमिफाइनल खेलहरू आज हुँदै छन् ।

भूटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल्दै छ । भारतले समूह चरणमा बंगलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो ।

यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली भूटानमाथि २–१ गोलको पुनरागमन जीत दता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भूटान आएको बताउँदै भारतविरुद्धको सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे । यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए । टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि जित्ने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुने छ । पाकिस्तान र बंगलादेशको खेल भने अपराह्न पौने ६ बजे हुने छ । आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन् । साफ यू–१७ मा घरेलु टोली भूटानसहित श्रीलंका र माल्दिभ्स पनि सहभागी थिए ।

Logo