‘पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न’

‘पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

औषधी व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको पुरक आहार, विभिन्न टोरिक भिटामिन लगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो । अधिवक्ता राजिव वास्तोलाले गलत ऐन प्रयोग भई प्रत्यायोजित विधायनको उल्लंघन भएको भन्दै समितिमा उजुरी गरेका थिए । औषधि व्यवस्था विभागले भने व्यवसायीहरुले औषधिजन्य वस्तुहरुमध्ये कुनैलाई औषधिको रुपमा र कुनैलाई पुरक आहारको रुपमा भित्र्याएर कर छलेको आरोप लगाएको छ ।

यता स्वास्थ्य सेवा विभागले भने औषधि विक्रेताले औषधि र टोनिक तथा पुरक आहारलाई नछुट्याई विक्री वितरण गर्दा समस्या देखिएको बताएको छ । कतिपय अवस्थामा औषधिजन्य वस्तुलाई औषधि भनेर विरामीलाई दिंदा नकारात्मक असर परेको पनि विभागको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने पुरक आहारको रुपमा प्रयोग हुने भिटामिन र टोनिक आहारलाई खाद्य वस्तुभित्र राख्नु पर्ने बताएको छ । त्यस्ता वस्तुको प्रयोग हुने विधी र मात्राको विषयमा चिकित्सकले विरामीलाई सुझाव दिन थालेपछि औषधिको रुपमा बुझ्नु पर्ने बताएको छ । यसमा नियामक निकायले आफ्नो दायरा स्पष्ट गर्नुपर्ने पनि विभागको भनाई छ ।

सरकारले औषधि व्यवस्था विभागमार्फत पुरक आहारको रुपमा नेपाल भित्रने खाद्यवस्तुलाई औषधिको रुपमा मात्र आयात गर्न अनुमति दिने गरेको छ । औषधि तथा औषधिजन्य वस्तु आयातकर्ताले यसको विरोध गर्दै आएका छन् ।

Logo