विपदमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्दार

विपदमा परेका १७ हजारभन्दा बढीको सकुशल उद्दार

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ ।

विपदमा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए । उनले विपदमा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिँदै विपद्का घटनामा पुरी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए ।

‘घाइतेमध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ ।’ प्रवक्ता तिवारीले भने, ‘विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहतसमेत वितरण गरिएको थियो ।’

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले खोज, उद्दार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन् । उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्दार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिए ।

गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गरेका थिए ।

त्यस्तै, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ । अवरुद्ध सडक पुनः सुचारु गर्न पहल हुनुका साथै पहिरोको जोखिम रहेका राजमार्गमा सुरक्षा व्यवस्था समेत मजबुद पारिएको छ ।

Logo