११६ वर्ष अघि ५० लाखमा बनेको थियो १७ सयकोठे सिंहदरबार

११६ वर्ष अघि ५० लाखमा बनेको थियो १७ सयकोठे सिंहदरबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ ।

तर पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।

सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेज जस्तो लाग्छ । मन्त्रालय परिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर अब सरकार व्यवस्थापनतर्फ लागेको छ ।

रक्षा मन्त्रालयका लागि बनिरहेको १०५ कोठे भव्य भवन ‘फिनिसिङ’ को चरणमा छ । १९ करोड ३३ लाख लागतमा डाँफे समानान्तर जेभी कन्स्ट्रक्सनले सम्झौता गरिए भन्दा आधा समयअघि नै संरचना तयार गरेको हो । तीन वर्षमा भवन निर्माण सक्ने गरी गत ३ असारमा डाँफेसँग सम्झौता भएको थियो ।

सिंहदरबारमा यत्रतत्र टाँगिएका बिजुली, टेलिफोन र केबुलका तार चालू आर्थिक वर्षभित्रै भूमिगत रूपमा व्यवस्थापन गर्ने योजना छ । यसका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अर्थ मन्त्रालयसँग २ करोड बजेट माग गरेको छ । यस्तै, सबै सडकमा सौर्यबत्ती जडान गरिएको छ ।

फ्रान्सको भर्सेलिज दरबारबाट प्रभावित भएर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले सन् १९०३ मा १७ सय कोठे सिंहदरबार बनाएका थिए । ३ सय ५० रोपनी जग्गामा ५० लाख लागतमा बनेको सिंहदरबारको नामकरण कान्छी रानी बालकुमारीको प्रस्तावमा गरेका थिए । ३० मंसिर १९८६ मा चन्द्रशमशेरको मृत्यु सिंहदरबारमै भएको थियो ।
नयाँ पत्रिकाबाट

Logo