खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

केन्द्रबिन्दु
0
Shares

जुम्ला

कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन मिल सञ्चालन गरिएको हो । कर्णाली स्पोर्ट्स क्लबले चन्दननाथ नगरपालिका–५ रानीपोखरी नजिकै २२ लाख रुपैयाँ लागतमा मिल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

यसअघिका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान राखेका जुम्लाका एथलेटिक्स खेलाडीले भोग्नुपरेको आर्थिक संकट हटाउन मिल सञ्चालन गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । मिलबाट प्राप्त आम्दानी नयाँ खेलाडी उत्पादन तथा खेलाडी व्यवस्थापनमा खर्च गरिने उनले बताए । ‘नियमित प्रशिक्षणका क्रममा खाजा, पोसाक र यातायात खर्च नहुँदा हाम्रा खेलाडी निरुत्साहित छन्’ उनले भने, ‘अब त्यो समस्या अन्त्य गरी कर्णालीको खेलबाट नेपाललाई विश्वसामु चिनाउन दक्ष खेलाडी उत्पादन गर्नेछौं ।’

एथलेटिक्स प्रशिक्षक तथा धावक हरिबहादुर रोकायाले मिल सञ्चालनका लागि ३५ लाख बराबरको जग्गा उपलब्ध गराएका छन् । उनकै नाममा रहेको हरिबहादुर फाउन्डेसनबाट एक लाख ५० हजार नगद सहयोग गरेका छन् । ‘भोकै प्रशिक्षण गराउँदा र अरूसँग सहयोग माग्न जाँदा खेप्नुपरेको तिरस्कारको पीडा हामीलाई मात्रै थाहा छ’, धावक रोकायाले भने, ‘त्यसैको अन्त्यका लागि मिल सञ्चालनमा सहयोग गरेको हुँ ।’
अन्नपूर्णबाट

Logo