हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमता भन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँच जनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो । उनका भनाइमा दुर्घटनाको प्रकृति हेर्दा चालक प्रभाकर केसीले कुहिरो छल्न सिस्नेबाट फुरुम्बुको गढीडाँडातर्फको बाटो समातेको हुनुपर्छ । ‘मेरो विचारमा हावाले सही दिशा लिन नदिएर एकैचोटि तारेभीरतर्फ खसाल्यो’, पौडेलले भने, ‘कुहिरो छल्न सिस्नेको शिरबाट गढीडाँडा हुँदै सुकेटारतर्फको यात्रा सोचेका चालकलाई हावाको वेग र कुहिरो बाधक बने र हेलिकोप्टर मोडाउने क्रममा दुर्घटनामा पर्यो ।’

थिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईका अनुसार हेलिकोप्टरले पाथीभरा मन्दिरबाट सुकेटार वा राजधानी फर्कने यात्राका लागि जहिल्यै सीधै माथिल्लो फेदीको वल्लो छेउबाट विद्युत तार टाँगेको क्षेत्र हुदै भालुगौंडेको माथिबाट एकैपटक सुकेटारतर्फ यात्रा तय गर्छ । बुधबार दुर्घटनामा परेको हेलिकोप्टरको उडान त्यसभन्दा विपरीत सिस्नेखोलाको शिरतर्फ गएको छ ।

‘जुन बाटोबाट हेलिकोप्टर फर्कियो, त्यो गलत थियो । त्यसमा वजन पनि बढी भएको र हावाको वेगका कारण हेलिकोप्टरलाई चालकले सही दिशामा मोडाउन खोज्दा सकेनन्’, भट्टराईले बताए । जहाज दुर्घटना लगत्तै दुर्घटनास्थल पुगेका स्थानीय घनश्याम पौडेलले हेलिकोप्टरले लिएको गलत दिशा र त्यो क्षेत्रमा हावाको वेग दुर्घटनाका लागि प्रमुख कारण रहेको बताए । ‘सधैं भन्दा अर्कैबाटोमा हेलिकोप्टर गयो । सबै छक्क पर्यौं’, पौडेलले भने, ‘जहाजलाई पहिलाकै स्थानतर्फ मोडाउने क्रममा चालकले प्रयास गरेर उचाइ लिन खोज्दा त्यो सम्भव भएन र हावाको अनियन्त्रित वेगले सीधै तारेभीरमा खसाल्यो ।’ उनले हेलिकोप्टर भीरमा ठोक्किएर नभई एक्कासि झर्दा मात्र तारेभीरमा बज्रन पुगेको अनुमान गरेका छन् ।
नागरिकबाट

Logo