श्रेष्ठको निधनले शोकमा भक्तपुर : ताप्लेजुङ हेलिकप्टर दुर्घटना

श्रेष्ठको निधनले शोकमा भक्तपुर : ताप्लेजुङ हेलिकप्टर दुर्घटना

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भक्तपुरका वीरेन्द्र श्रेष्ठको निधनपछि जिल्लावासी स्तब्ध बनेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाँदा भक्तपुर नगरपालिका वडा नं १० याताछेँ टोलका बासिन्दा एवं नेपाल नागरिक उड्डययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको ज्यान गएको खबरले भक्तपुर याते टोलका बासिन्दासहित जिल्लावासी शोकमा परेका हुन् । बाबु बितेको पाँच महीनामै श्रेष्ठ परिवारमा अर्को बज्रपात पर्छ भन्ने कल्पना पनि कसैले गरेका थिएनन् । गत असोज २९ गते फूलपातीको दिन उपमहानिर्देशक श्रेष्ठका पिता केशवप्रसाद श्रेष्ठको निधन भएको थियो । ५ महीना नबित्दै यो परिवारमा अर्को शोक प¥यो । मृतक श्रेष्ठका ठूलो बुवा छोरा योगेन्द्र श्रेष्ठले अकल्पनीय घटनाले दुःखी बनाएको बताउनुभयो ।

योगेन्द्रले भन्नुभयो, “उनी केही समयदेखि कोटेश्वरमा बस्दै आएका थिए, एउटै परिवारमा भएको यो घटनाले निकै दुःखी बनाएको छ, शोकमा डुबेको छन् यहाँका बासिन्दा ।” “पिताको निधनपछि आमा मोहनदेवीलाई पनि आफूसँगै लिएर कोटेश्वरको घरमा गएका श्रेष्ठ अब कहिल्यै नफर्कने गरी बिदा भए, आमा र परिवारलाई सम्हाल्नै नसक्ने बज्रपात प¥यो”, श्रेष्ठका आफन्त राजेन्द्र श्रेष्ठ भन्नुहुन्छ ।

भक्तपुरको नवदुर्गा बहुमुखी क्याम्पसमा समेत विगतमा शिक्षण पेशामा आबद्ध भएर धेरैलाई शिक्षा दिनुभएका श्रेष्ठ टोलवासीका लागि उदाहरणीय र आँखामा राख्दा पनि नबिझाउने पात्रका रुपमा चिनिएका बताउँछन् स्थानीय बासिन्दा । परिवारका माहिलो छोरा श्रेष्ठको निधनले श्रीमती प्रमिला, छोरी कृष्टिना र छोरा अभिषेकलाई मात्रै नभई दाइ महेन्द्र र भाई सञ्जीवलाई पनि बज्रपात परेको बताउँछन् आफन्त ।

श्रेष्ठको शव आवश्यक प्रक्रिया पूरा भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएका छन् । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थल निरीक्षणपछि पाथिभरा दर्शन गरी काठमाडौँ फर्कने क्रममा भएको हेलिकप्टर दुर्घटनामा उड्डयन प्राधिकरणका निर्देशक ध्रुर्व भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको ज्यान गएको थियो ।
रासस

Logo