बाढीले दुःख दिएपछि एमालेले नयाँ भवन बनाउने, कीर्तिपुरको १२ रोपनी जग्गामा शिलान्यासको तयारी

बाढीले दुःख दिएपछि एमालेले नयाँ भवन बनाउने, कीर्तिपुरको १२ रोपनी जग्गामा शिलान्यासको तयारी

केन्द्रबिन्दु
69
Shares

काठमाडौँ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उनले बताए ।

शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी उनले दिए । एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो।

२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको छ ।

एमालेका आठ लाख बढी पार्टी सदस्यहरू छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पनि उठाइएको थियो।

गत बैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।

Skip This
Skip This
Logo