हिजो कलकल, आज ढलैढल : बागमतीमा रित्तिँदै पानी

हिजो कलकल, आज ढलैढल : बागमतीमा रित्तिँदै पानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बागमती नदीमा पानीको बहाव निकै घटेको विज्ञहरूले आँकलन गरेका छन् । नदीको संरक्षण नगर्नु, जमिनको पम्पिङ गर्नुु, पानीका स्रोतहरू मास्नु र कंक्रिट जंगलले जमिन सिचाइँ हुन नपाउनु जस्ता कारणले बागमतीसँगै उपत्यका अन्य नदीमा पानीको बहाव घटिरहेको विज्ञहरूको ठम्याई छ ।

वातावरणविद् भूषण तुलाधरले बागमती छेउमा रोपिएका बिरुवाले स्याहार नपाएको र नहुर्किएकाले पनि बागमतीको अस्तित्व झन्–झन् संकटमा पर्न थालेको जानकारी दिए । यसले नदी छेउका पानी रसाउने मुहानहरू सुकाएको उनले बताए ।

‘नदीतर्फ फर्काइएका ढल व्यवस्थापन गर्न तर्फ कसैको चासो छैन, यस्तै हो भने पशुपतिको अस्तित्व संकटमा पर्छ, यसलाई बचाउन सरकारले कुनै न कुनै प्रभावकारी उपाय तत्काल अवलम्बन गर्नुपर्छ,’ उनले भने । उनका अनुसार खोलानालाको लागि जमिन ट्यांकी हो । वर्षायामको पानी त्यहीँ जमिनमा भरिएर बस्छ । हिउँदको बेला मूल मुहान जस्ता स्रोतबाट पानी रसाएर नदीहरूमा बग्छ । तर बागमती क्षेत्रमा भएका मुहानहरू सुकिसकेका छन् । सुन्दरजलदेखि नै बागमती ढलमग्न भएको छ ।

चक्रपथ सफाइ अन्तर्गत नदी छेउका मोटामोटी फोहर टिपे पनि ढल तर्काउने कामतर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । ‘त्यसै त कंक्रिटका कारणले प्रशस्त जमिनमा पानी छिर्न पाएको छैन, त्यसमा पनि मानिसले हिउँदको बेला तानेर सकाउँछन्,’ उनले थपे, ‘हामीले खाली जमिन कहीँ राखेनौं, अब त जमिन सिचाइँ हुने ठाउँ समेत भेटिन मुस्किल परेको छ उपत्यकाभित्र, यस्तै हो भने बागमतीको पानी अहिले जतिकै बग्न पनि छाड्छ । ’

बागमती सरसफाइ हरेक हप्ता गरिन्छ । यसको एउटै उद्देश्य हो– बागमती स्वच्छ र सफा बनोस् । तर नदी सफाको नाममा बाहिर फालिएका फोहर उठाउने काम मात्रै गरिएको छ । नदीलाई दूषित पार्ने ढलको व्यवस्थापन भने जस्ताको तस्तै छ ।
नागरिकबाट

Logo