अज्ञात रोगका कारण एकै विद्यालयका ३७ जना विद्यार्थी बिरामी

अज्ञात रोगका कारण एकै विद्यालयका ३७ जना विद्यार्थी बिरामी

केन्द्रबिन्दु
0
Shares

रुकुम

रुकुम पुर्वको एक विद्यालयमा अज्ञात रोग देखिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ मयाङको जनजागृत आधारभुत विद्यालयका ३७ जना विद्यार्थी बिरामी भएको बिद्यालयले जनाएको छ । आइतबार बिहान विद्यालयमा आएर प्रार्थना गरिरहेका विद्यार्थीहरुमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रीङगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखिएको प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो ।

बिहिबारबाटै एकदुई जनामा यस्तो समस्या देखिएको तर आइतबार ठुलो संख्यामा विद्यार्थी बिरामी भएको उहाँले बताउनुभयो ।

दुर्गम ठाउँमा रहेको त्यस विद्यालय नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा उपचारमा समस्या आएको छ । भएको एउटा स्वास्थ्य इकाईको कर्मचारी पनि परीक्षा दिन जिल्ला बाहीर गएपछि झन समस्या भएको हो । विद्यालयबाट सबैभन्दा नजिक मानिने वडा नम्बर ५ हुकाममा रहेको स्वास्थ्य संस्था पुग्न पनि २ घण्टा समय लाग्छ ।

विद्यालयका प्रधानाध्यापक सेनले सीएमए अध्यन गरेको हुँदा अहिले उहाँले नै विद्यार्थी चेक गरेर स्वास्थ्य इकाइमा उपलब्ध औषधी गरिरहनु भएको वडा नम्बर ६ का वडा अध्यक्ष टोपे सेन ठकुरीले जानकारी दिनुभयो । २७९ जना विद्यार्थी अध्यनरत रहेको उक्त विद्यालयमा अहिलेसम्म ३७ जना विद्यार्थी बिरामी भएका छन् । अहिले बिरामी उपचारको लागि हुकामबाट स्वास्थ्यकर्मिको टोली मयाङतिर आइरहेको वडा अध्यक्ष सेनले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo