काठमाडौं
ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा २० च १०३२ नम्बरको आफ्नो गाडी साइड लगाएर सडकमा फ्याँकिएको वस्तु हेर्न झरे । दुर्भाग्य, उनी शंकास्पद वस्तु नजिक नपुग्दै विस्फोट भयो । उनको शरीरको केही भाग छुट्टियो । घटना शुक्रबार राति आठ बजेतिरको हो ।
भैंसेपाटी बस्दै आएका गुरुङ साथीहरुसँग भेटघाट गरी घर फर्कंदै गर्दा प्रेसर बम विस्फोटमा परेका थिए । घटनास्थलमा शनिबार बिहान भेटिएकी उनकी भाउजू धनकुमारी गुरुङले भनिन्, ‘उहाँ ( देवर सिमप्रसाद ) दुर्घटनामा परेको खबर पाएपछि म लमजुङबाट काठमाडौं आएँ । अवस्था सामान्य होला भन्ने लागेको थियो तर नसोचेको भयो ।’
प्रत्यक्षदर्शीका अनुसार गुरुङ एनसेलको गेट अघि पुग्नै पाएनन् । ‘त्यहाँ नपुग्दै ठूलो आवाज आयो । आवाजसँगै उनको शरीरको केही भाग टाढासम्म पुग्यो । प्रहरी पनि तुरुन्तै आयो । अस्पताल लग्यौं’, एक प्रत्यक्षदर्शीले भने, ‘के भयो के, थाहा पाउन सकिएन । सबै भागाभागको अवस्था आयो ।’ विस्फोटबाट एनसेल मुख्यालय अघिको एक रेस्टुरेन्ट, एक क्याफे र फर्निचर पसलको समेत सिसा फुटेको छ ।
प्रत्यक्षदर्शीका अनुसार धुलो र धुवाँमात्रै उडेको थियो । गुरुङ सडकमै छटपटाइरहेका बेला उद्धारमा खासै कसैले ध्यान नदिएको र सबै मोबाइलबाट फोटो खिच्न लागेको एक पसलेले बताए । उनका अनुसार विस्फोटको १० देखि १३ मिनेटजतिमा प्रहरी आएपछि मात्रै उनलाई अस्पताल लैजान सकिएको ती पसलेले बताए ।
विस्फोटबाट घाइते उनलाई बि एन्ड बी अस्पतालमा उपचार हुन नसकेपछि मेडिसिटी लगिएको थियो । विस्फोटबाट उनका दुवै खुट्टा चुँडिएका थिए, कम्मरका हड्डी भाँचिएका थिए र केही नसा चुँडिएका थिए । गम्भीर घाइते ४९ वर्षीय उनको उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको थियो ।
गुरुङका आफन्तको विरोध
विस्फोटबाट गम्भीर घाइते गुरुङलाई प्रहरीले सुरुमा अल्का अस्पताल र त्यसपछि बि एन्ड बी अस्पताल लगेको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई मेडिसिटी लगिएको थियो । सुरुमै नजिकैको मेडिसिटी अस्पताल नलगिएको भन्दै गुरुङका आफन्तले प्रहरी रबैयाको विरोध गरे । शनिबार बिहान प्रहरी कार्यालय र घटनास्थल पुगेका आफन्तले नजिकैको अस्पतालमा नलगेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न समेत माग गरेका छन् ।
गृह मन्त्रालय सूचना शून्य
गृहमन्त्री रामबहादुर थापाले एक वर्ष अघि आफूले मन्त्रालय सम्हाले लगत्तै सूचना स्रोतबारे चासो राखेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग थापाले राज्यका सबै संयन्त्रमा हुने गतिविधि र मुलुकभर हुने विभिन्नखाले गतिविधिको भरपर्दो सूचना स्रोतबारे जिज्ञासा राख्दा उनलाई राष्ट्रिय अनुसन्धान विभागले सहयोग गर्ने भनिएको थियो । तर विभागलाई प्रधानमन्त्री कार्यालय मातहत सारिएको छ । अहिले गृह मन्त्रालयमा अनुसन्धान विभागका डिएसपीको कमान्डमा चारजनाको टोली राखिएको छ । त्यसको काम भनेको पत्रपत्रिकामा आएका समाचार विश्लेषण गर्ने मात्रै छ । त्यो टोलीले गृहमन्त्री वा गृहसचिव कसैलाई पनि रिपोर्ट गर्न सक्दैन ।
अनुसन्धान विप्लवतर्फ
ललितपुर लगायत मुलुकका विभिन्न स्थानमा शुक्रबार राति बम विस्फोट भएपछि नेपाल प्रहरीले अनुसन्धानको सुई नेत्रविक्रम चन्द नेतृत्वको नेकपातर्फ सोझाएको छ । प्रहरीका एक उच्च अधिकारीका अनुसार एक महिनाअघि विप्लवका कार्यकर्ताले एनसेलको मुख्यालयमा चन्दाका लागि पत्रचार गरेको थियो। तर प्रहरीलाई यसबारे तत्काल जानकारी गराइएन ।
नागरिकबाट































प्रतिक्रिया