काठमाडौँ
०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ । पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो ।
पछिल्लो समयमा होटल उद्योगमा झण्डै साढे तीन खर्ब लगानीको प्रतिबद्धता आएको थियो । प्रतिबद्धता अनुसार लगानी आइसकेको छैन र मुलुकभरको यकिन तथ्यांक पनि छैन । नेपाल होटल संघ (हान) का पदाधिकारीको अनुमानमा निजी क्षेत्रबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ ।
हानका महासचिव विनय शाहका अनुसार अहिलेसम्म पर्यटकीय होटलमा झण्डै १० खर्ब रुपैयाँ लगानी भएको छ । यसमध्ये ३० प्रतिशत पछिल्ला वर्षमा लगानी भएको हो । उनका अनुसार भूकम्पपछि केही समय पर्यटकीय गतिविधि शून्य जस्तै भयो । तर पछिल्ला वर्षमा होटलमा लगानी गर्नेहरु बढिरहेका छन् । यो लगानी अझै बढ्दो क्रममा रहेको हानमा महासचिव शाहले बताए ।
‘होटलमा लगानी थपिनु पर्यटक क्षेत्रलाई खुसीको खबर हो,’ उनले भने, ‘पछिल्ला वर्षमा त ह्वात्तै लगानी थपिएर झनै खुसी हुनुपर्ने अवस्था छ ।’ उनका अनुसार पछिल्ला वर्षमा होटलमा लगानीको ओइरो नै लागेको छ । देशभरको अवस्था हेर्दा पर्यटकस्तरीय झण्डै एक सय होटल पछिल्ला वर्षमा निर्माण तथा सञ्चालनको अवस्थामा छन् ।
पर्यटनमा विमानस्थलपछिको महत्वपूर्ण पूर्वाधार होटललाई लिइन्छ । अहिलेकै अवस्थामा होमस्टेदेखि चेन होटलसम्मको अवस्था हेर्दा झण्डै २५ लाख पर्यटक धान्न सक्ने वातावरण होटल उद्योगले बनाइसकेको हानको दाबी छ । पर्यटन मन्त्रालयका अनुसार पर्यटकस्तरीय होटलमा करिब ४८ हजार कोठा छन् । यी कोठाले २५ लाख पर्यटकको लागि सुविधा दिन सकिन्छ । होटल व्यवसायीका अनुसार पाँचतारे होटल निर्माण गर्दा एउटा कोठाको लागि न्यूनतम एक करोड रुपैयाँ खर्च लाग्छ । होटल दर्ता गर्दा व्यवसायीले जति तारे भनेर दर्ता गरे पनि निर्माणपछिको पूर्वाधार अनुसार सरकारले तारे वर्गीकरण गर्छ ।
लगानी यसरी बढिरहे पनि अघिल्लो वर्ष १२ लाख हाराहारी मात्रै विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । ‘अहिलेकै अवस्थामा हेर्दा होटल उद्योग २५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्थामा छ,’ शाहले भने, ‘अबको दुई वर्षपछि यो संख्या बढेर झण्डै ३० लाख पुग्न सक्छ ।’
विदेशी पर्यटकलाई मात्रै गणना गर्दा होटलको अकुपेन्सी ५० प्रतिशत मात्रै हुन आउँछ । यद्यपि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्दो क्रममा रहेकाले होटलहरुको अकुपेन्सी बढाउन सहयोग पुगेको छ । हानका अध्यक्ष अमरमान शाक्यका अनुसार मध्यपर्यटकीय सिजनमा समेत ८० प्रतिशत मात्रै अकुपेन्सी छ ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । त्यसको लागि होटलको समस्या नपर्ने हानको दाबी छ । अझ सन् २०२० भित्र दर्जन भन्दा बढी होटल थपिने छन् । ती होटलमा १५ सय हाराहारी कोठा थपिने अनुमान हानको छ । सञ्चालनको तयारीमा रहेका होटल झनै स्तरीय छन् । हानका अनुसार सन् २०१९ भित्रै स्तरीय तारे होटल सञ्चालनको तयारीमा छन् ।
नागरिकबाट































प्रतिक्रिया