काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा ललितपुर महानगरपालिकाले प्रतिष्ठान एंव अध्ययन केन्द्र स्थापना गर्ने भएको छ । उक्त अध्ययन केन्द्र स्थापनाले जोशीको बारेमा अध्ययन गर्ने चाहनेलाई सहगोग पुग्ने उद्देश्यका साथ महानगरले बनाउन लागेको हो ।
२०७६ साल वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक गर्न महानगरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ सय वर्षमा प्रवेश गर्दैछन् ।
महानगरभित्रका उपयुक्त स्थानमा प्रतिमासहितको जोशीको नाममा पार्क निर्माण गरिने महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । महानगरपालिकाभित्रको उपयुक्त बाटोलाई जोशीको नाममा नामाकरण गरिनेछ ।
जोशीलाई गोसाईकुण्ड (सिलु) दर्शनको लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको कार्यसम्पादन समितिका संयोजक एवं वडा न ३ का अध्यक्ष गोपाल महर्जनले जानकारी दिए । यसैगरी वाङमय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यत्तित्वत्वलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने बताइएको छ । यसैगरी सत्यमोहन जोशी भाषा र तस्वीर अंकित हुलाक टिकट प्रकाशन र स्वर्णमुद्रा निश्कासन गर्ने निर्णय समेत महानगरले गरेको छ ।
ललितपुर महानगरपालिकास्थित पिम्बहाल पोहरीमा मल्लकालीन संगीत सांगितिक साँझ कार्यक्रम समेत आयोजना गरिनेछ । पाटन संग्रहालयभित्र रहेको भण्डारखाल बगैचालाई सुन्दर एवं व्यवस्थित बनाउन जोशीबाट उद्घाटन गरी शिलायन्यास गर्ने योजना पनि रहेको छ ।
महानरले यस अघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीधान, ड्राइभर, गार्ड, मोवाइल फोन लगायत प्रदान गरेको छ । जोशीको शतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरि निर्णय गरेको थियो ।































प्रतिक्रिया