वासिंगटन डिसी । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि र भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिदबिक्री सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् ।
उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराएका छन् । यसैगरी भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिए ।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरेका छन् । उनले संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुई घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना लगानीकर्ताहरूलाई देखाए ।
लगानी सहजीकरणका लागि महासंघले एफडिआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आस्वस्त पारे । महासंघले एफडिआई हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनँले जानकारी गराए । अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागी हुने क्रममा वासिंगटनमा छन् । यसअघि उनले अन्तरराष्ट्रिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका छन् ।





























प्रतिक्रिया