दोषीलाई कारबाहीको माग गर्दै बाल फुटबल खेलाडीका परिवारले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दोषीलाई कारबाहीको माग गर्दै बाल फुटबल खेलाडीका परिवारले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण बुझाएका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद् निधन भएको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरूलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरवाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे । भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।

Skip This
Skip This
Logo