काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद समाधान गर्न माग राखेको छ । विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद वार्ताद्वारा समाधान गर्न सबै पक्षमा आग्रह गरेको हो ।
विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने एफएनसीसीआईले बताएको छ । ‘यो विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा सबै पक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विधुत प्राधिकरणबीच मत भिन्नता रहेको छ । जसले गर्दा धेरै समयदेखि यो विषय अल्झिएको एफएनसीसीआईको ठहर छ ।
बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरू तयार रहेको छन् । एफएनसीसीआईको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाको लागी अन्त गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर, उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन नसकेको पनि एफएनसीसीआईले बताएको छ ।
लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताको माध्यमबाट लामो समय देखिको डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धी समस्या समाधानको लागी नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिकाका आवश्यक रहेको एफएनसीसीआईको भनाइ छ ।
एफएनसीसीआईले तत्कालै काटिएको सम्पूर्ण उद्योगहरूको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाको लागि डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न जोड दिएको छ ।





























प्रतिक्रिया