बाणिज्य संघले बनायो महोत्सव खर्च पारदर्शी बनाउन निर्देशिका

बाणिज्य संघले बनायो महोत्सव खर्च पारदर्शी बनाउन निर्देशिका

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले फागुन १८ गतेदेखि आयोजना गर्ने १२ औं सुदुरपश्चिम स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको खर्च पारदर्शी बनाउन आर्थिक निर्देशिका बनाएको छ ।

संघले एक महिनाभित्र खर्च विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने गरी निर्देशिका बनाएको हो । संघको तेस्रो बैठकबाट निर्देशिका पारित गरिएको छ ।

संघका महासचिव बासुदेब जोशीले महोत्सव खर्च पारदर्शी बनाउन निर्देशिका बनाइएको बताए । ‘महोत्सवको आय व्यय एक महिनाभित्र पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने व्यवस्था सहित निर्देशिका बनाएर बैठकबाट पारित गरिएको छ’ महासचिव जोशीले भने ।

यस अघि ११ औं कार्यकालमा गरिएका महोत्सवको खर्च विवरण सार्वजनिक नगरिएको विषय १२ औं कार्य समितिको निर्वाचनमा मुद्दा बनेको थियो । त्यसअघि भने पत्रकार सम्मेलन गरी खर्च हुने
गरिएको थियो ।

यस वर्ष फागुन १८ देखि २६ गतेसम्म महोत्सव आयोजना हुन लागेको छ । संघको नयाँ कार्य समितिको खर्च पारदर्शी बनाउने निर्णयलाई अहिलेसम्मकै सबैभन्दा ठूलो निर्णयका रुपमा हेरिएको छ ।

महोत्सव तयारीका लागि गठन गरिएका सबै समिति तयारीमा जुटेका छन् । मञ्च व्यवस्थापन, प्रचारप्रसार, प्रायोजन लगायतका तयारी सुरु गरिएको संघका महासचिव जोशीले जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी, महासचिव बासुदेब जोशी लगायतले सोमबार संघको कार्यालयमा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसंग प्रचार प्रसारका लागि छलफल गरेका छन् ।

सुदूरपश्चिमको संस्कृति, पर्यटन, आर्थिक कारोबार प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा १ सय ५० व्यवसायिक र २० होटेलका स्टल राखिने भएका छन् ।

यसैबीच संघले विषयगत समिति गठन सुरु गरेको छ । संघको विधान अनुसार गठन हुने समितिमध्ये आर्थिक समिति र सचिवालय गठन गरिएको छ । संघका कोषाध्यक्ष निर्मला भट्टको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । यसैगरी महासचिव जोशीको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । ती दुबै समितिमा ५/५ सदस्य छन् ।

Logo