राजश्व अधिकृतविरुद्ध तीन करोडको अकुत मुद्दा

राजश्व अधिकृतविरुद्ध तीन करोडको अकुत मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित सोमबार मुद्दा दायर भएको छ । विभिन्न कार्यालयहरूमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै जेल सजाय र जरिवानाको मागसहित अख्तियारले सोमबार रिजालविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियार अनुसन्धानबाट उनको श्रोत नखुलेको अवैध सम्पत्ति दुई करोड ९७ लाख ३८ हजार रुपैयाँ देखिएको छ । उनकी पत्नी स्वस्थानी रिजाललाई पनि प्रतिवादी कायम गरिएको छ । ३५ वर्षको जागिरे जीवनमा आर्जित गैरकानुनी सम्पत्ति जफत र त्यति नै जरिबाना गर्न अख्तियारको माग छ । उनलाई भ्रष्टाचार निवारण ऐन अनुरुप दुई वर्षसम्म जेल सजाय माग गरिएको छ ।

रिजाल २०४० साल कात्तिक ६ गते खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरेका थिए । २०४१ बैशाख ५ सम्म उनी त्यहाँ कार्यरत रहे । २०४१ बैशाख ११ गते भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ति पाएका थिए । उनले २०७४ बैशाख १५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरेको थिए ।

उनको वैध आय एक करोड ९६ हजारको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको छ । सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएकोले वैध आयको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० रुपैयाँको स्रोत खुल्न नसकेको हो । उनले सरकारी सेवामा प्रवेश गरेपछि त्यो परिमाणको सम्पत्ति श्रोत खुलाउन नसकेकाले अवैध रुपमा कमाएको देखिएको हो ।
अन्नपूर्णबाट

Logo