काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल रहेका शर्माको पुस्तक शनिबार विमोचन भएको हो ।
निबन्धसङ्ग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, विद्या लिम्बु, डा. दयाराम श्रेष्ठ, कुमारी लामा, एसपी कोइराला, विष्णुविभु घिमिरे, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, शकुन्तला शर्मा, निर्मला शर्मा, विन्नी श्रेष्ठ तथा मान्यता शर्माले विमोचन गरेका हुन् ।
विमोचनपछि सबैले क्रमैसँग सो पुस्तक लेखकका स्वर्गीय पिताको तस्बिर अगाडि समर्पण गरिएको थियो । कार्यक्रम अलि पृथक् थियो, कुनै पनि व्यक्तिलाई मञ्चको व्यवस्थापन गरिएको थिएन । सबैजना दर्शकदीर्घामा नै थिए ।
िवमोचनपछि लेखक स्वयंकै शब्द रहेको गीत गाइएको कार्यक्रममा पुस्तकका प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कामनाका सीईओ श्रेष्ठले शर्माको दोस्रो कृति पनि प्रकाशन गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताए । उनँले आफ्ना गुरु शर्माको निबन्धले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताए ।
विमोचित कृतिमाथि हरिहर शर्माले आशीर्वचन दिएका थिए भने लेखक स्वयंले निबन्धांश वाचन गरेका थिए । श्रीओम श्रेष्ठ, अशेष मल्ल, विष्णुविभु घिमिरे तथा एसपी कोइरालाले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना मन्तव्यका क्रममा श्रीओम श्रेष्ठले शर्माको निबन्धसङ्ग्रहमा मौलिकपन भएको बताए ।
अर्का व्यक्तित्व अशेष मल्लले निबन्धकारले भावलाई समेटेर लेखिएको भाषाशैली गज्जबको भएको बताए । उनले पृथक् भाषाशैली प्रयोग गर्न सक्नु निबन्धकारको खुसी भएको बताए । उनले अहिले शंकर लामिछानेको निबन्धभन्दा कम नभएकाले दोस्रो शंकर लामिछानेको उपमा दिए ।
कुमारी लामाले आफ्नो समीक्षात्मक मन्तव्य राख्दै उत्कृष्ट लेखन भएको बताए । अर्का समीक्षक प्रा.डा दयाराम श्रेष्ठले शर्माका निबन्धमा कविताको रिदम, कथात्मक म्युजिकल नोट, चिमोट्नुको मीठो ताल, जीवन–दर्शनको सुर, पाठकमैत्री सिम्फोनी, प्रतिक्रियात्मक साउन्ड पज तथा केही नितान्त प्राइभेट गीतको नाद सौन्दर्य पाइएको बताए । उनले भने– ‘शब्दशिविरपछिको यो धोबीघाट मेलोडी कम तेजिलो, वेगिलो र जोसिलो छैन, उहाँको गद्यशैलीले मलाई पागलै बनायो ।’
त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने– ‘साहित्यमा कुनै नामै छैन, यस्तोमा मलाई बोलाएर अन्याय गरेको हो कि पुरष्कृत गरेको हो थाहा नै भएन ।’ राजनीतिक व्यक्तित्वलाई साहित्यिक कार्यक्रममा बोलाएर धोबीघाटसम्म जोडेकोमा उनले आभार व्यक्त गरे । उनले आफ्नो खेत नै धोबीघाटमुनि भएको र पुस्तकको नामकरण पनि धोबीघाट भएर आएकोमा हर्ष व्यक्त गरे ।
डा. मुनीश शर्माले आफ्ना अभिभावक तथा गुरुहरुको योगदानको स्मरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका सभापति एवं संस्थापक उमेश श्रेष्ठले ३०–३५ वर्ष अघिसम्म राम्रो रहेको साहित्यिक क्षेत्र अहिलेको पुस्तामा आइपुग्दा अलि घटिरहेको हो कि भन्ने लागेको बताए । बालसाहित्य नाटक भएको देश राम्रो मानिले बताउँदै उनले आफ्नो संस्थाबाट ३७ हजार विद्यार्थी पासआउट भएर गए पनि साहित्यको क्षेत्रमा कमै मात्र आएको बताए । आफ्नो संस्था ४४ वर्षमा पुगेको चर्चा गर्दै उनले यो धोबीघाटको मेलोडी जनजनमा पुग्न सकोस् भनी शुभकामना दिए । २ सय २ पृष्ठको सो निबन्धसङ्ग्रह नेपालभर पाइने भएको छ । पुस्तकको मूल्य ५ सय रहेको प्रकाशकले जनाएको छ । यस निबन्धभित्र २४ वटा निबन्धको सङ्ग्रह छ । यसलाई तीन भागमा बाँडिएको छ । पहिलो भागमा क्षणिकीहरु, दोस्रोमा अनुभूतिहरु र अन्त्यमा अन्तर्दृष्टिहरु समावेश गरिएको छ ।































प्रतिक्रिया