काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव सम्मानित भएका छन् । उनी मन्त्री भएपश्चात उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले सम्मान गरेको हो ।
मन्त्री यादवले सम्मान कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए ।
उनले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको जानकारी दिए । उनले भने, “मानिसलाई पानी नभइनहुने कुरा हो, पानीविना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम चालिनेछ ।”
यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्न सधैँ तत्पर रहेको बताए । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं सङ्घर्ष समितिले राखेका मागका विषयमा उनले ओभरहेड ट्याङ्की निर्माण गर्न बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न सिस्नेरीबाट पानी ल्याउने पहल भइरहेको जानकारी दिए । सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुविधा दिएको भन्दै मन्त्री यादवको प्रशंसा गरे ।





























प्रतिक्रिया