काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर ओलीले दिएको अभिव्यक्तिमा एनआरएनएकै केसीको विपक्षमा रहेकाहरूलाई पनि निशाना बनाउने काम भएको अभियन्ताहरूको भनाइ छ ।
चौतर्फी विरोधका बीच प्रधानमन्त्री ओली आइतबार बद्री केसी पक्षको साधारणसभामा सहभागी भएका थिए । सो क्रममा उनले ओलीले संघमा विवाद भए छलफल र संवाद गर्न आग्रह गर्दै प्रचण्डलाई जोडेर ‘हतियार उठाउनेलाई बिसाउन लगाउन पनि जानेका छौँ’ भनेका थिए ।
छलफल संवादभन्दा बाहिरका विधिहरू एनआरएनएमा गर्न नहुने भन्दै उनले भने, ‘हिजो एकजना (प्रचण्ड) उफ्रीउफ्रीकन भाषण गर्दै थिए । हतियार बिसाएको मात्रै हो, भ्रम नहोस् चलाउन बिर्सेको मात्रै हो । त्यस्तै त्यस्तै त हुन भएन नि ।’ ओलीले अगाडि भनेका थिए, ‘धम्क्याएको भरमा खाने ? हतियारलाई कसरी बिसाउन पर्छ भन्ने तरिका पनि जानेका छौँ । हामी चलाउन त चलाउँदैनौँ कसरी बिसाउने भन्नेचाहिँ जानेका छौँ ।’
ओली कार्यक्रममा जानुअघि केसीले प्रधानमन्त्रीलाई आफ्नो पक्षमा बोलिदिन आग्रह गर्दै अनुनय विनय गरेको उनी पक्षीय एक अभियन्ताले बताए । सोहीअनुसार ओली कांग्रेसका केही मन्त्रीलाई समेत कार्यक्रममा जान बाध्य पारेर बालुवाटारबाट निस्केको बताइएको छ । सो कार्यक्रममा ओलीले केसी पक्षको खुलेर प्रशंसा गरेका थिए । एक अभियन्ताले भने, ‘ओलीलाई नै प्रयोग गरेर बद्रीबाट आफ्ना विरोधीलाई धम्क्याउने काम भएको छ । यो ठीक होइन ।’
यसैगरी एनआरएनएका एक अभियन्ताले पूर्वअध्यक्षसहितका बहुमत अभियन्ताहरु एकताको पक्षमा हुँदा र अदालतमा समेत मुद्दा हुँदासमेत ओलीको केसी प्रेमले एकताको माहोल थप बिग्रिएको बताए । केसी पक्षलाई एकताको प्रक्रिया सुरु गर्नुपर्ने भएकाले साधारण सभा रोक्न अभियन्ताहरूबाट तीव्र दबाव भए पनि उनीहरू यो गर्न लागिपरे भने सरकारको साथबाट सोमबार सम्पन्न पनि गरिसकेको छ ।
एनआरएनएमा हाल तीन समूह रहेका छन् । केसीले एउटा समूहको नेतृत्व गर्दा आरके शर्मा र महेश श्रेष्ठको समूह शर्माको नेतृत्वमा छ । यस्तै १० औँ महाधिवेशनबाटै छुट्टिएको विनोद कुँवरले नेतृत्व गरेको समूह पनि छ ।
एनआरएनएको आधिकारिकता विवादमा गत चैत २१ गते सर्वोच्च अदालतले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकता महाधिवेशन गर्न आदेश दिएपनि केसी समूह कामकाजको माग गर्दै फेरि सर्वोच्च गएको थियो ।
एकातिर सर्वोच्चले एकताको महाधिवेशन गराउने र अर्कोतिर केसी पक्षले आफूलाई नै आधिकारिक भन्न थालेपछि पूर्वअध्यक्ष घले अदालतको मानहानि भएको भन्दै अदालत जाने कि भन्ने छलफलमा जुटेका छन् । अदालतले एकताको महाधिवेशन गर्नु भने पनि केसी पक्षको रवैयाले अदालतको मानहानि भएको बुझाइका साथ कानुनविद्सँग छलफल थालेका उनलाई केही कानुनविद्ले मानहानिको मुद्दा लिएर अदालत जान समेत सुझाएका छन् ।
घले पक्षका एक अभियन्ताले केसी पक्षबाट मानहानिको क्रियाकलाप भएकाले मुद्दा हाल्नेबारे कुरा भएको बताए । यद्यपि यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ । यस्तै केसीले ११ औँ महाधिवेशनमा धाँधली गरेको सप्रमाण दावी गरेका आरके शर्माले आफूहरूको दुई वटा मुद्दा अदालतमै विचाराधीन रहेको बताए । विभिन्न कागजात र सरकारी अध्ययनहरूले समेत चुनावमा धाँधली भएको देखाइसकेको भन्दै केसी पक्ष आधिकारिक हुनै नसक्ने उनले बताए । यदि कसैले आधिकारिकता पाउँछ भने आफूहरुले पाउने उनको जिकिर छ । यद्यपि आफूहरूको पहिलो प्राथमिकता एकता भएको उनको भनाइ छ ।





























प्रतिक्रिया