आज धनतेरसः नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहनाका साथै सवारीसाधन किनमेलको चटारो

आज धनतेरसः नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहनाका साथै सवारीसाधन किनमेलको चटारो

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहनाका साथै सवारीसाधन किनमेल गर्ने प्रचलनअनुसार आज चहलपहल बढेको छ ।

सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारीसाधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ–तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ ।

दसैं तिहारको अवसरमा सार्वजनिक गरिएको स्किमका साथ ग्राहकलाई सवारी साधन उपलब्ध गराउने र सजाएर राखिएको सोरुमलाई झनै आकर्षक बनाउने गरिन्छ ।

त्यसैगरी पहिले नै बुकिङ गरेका गाडी यो दिन डेलिभरी लिने समेत गरिन्छ । नयाँ ग्राहकले यो दिन नगदमै गाडी खरिद गर्ने प्रचलन समेत बढ्दो छ । दसैंको फूलपाती, धनतेरस र तिहारको लक्ष्मी पूजाको दिन विशेष गरी सवारी साधन बढी बिक्री हुने दिन मानिन्छ ।

विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ । धार्मिक मान्यताअनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुन्छ ।

आज आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गरिन्छ । आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

Logo