खाली खुट्टा हिँडेरै चाँगुनारायण पुगे माधवनारायणका व्रतालु

खाली खुट्टा हिँडेरै चाँगुनारायण पुगे माधवनारायणका व्रतालु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माधवनारायण स्वास्थानीका व्रतालुहरु शनिवार चाँगुनारायण पुगेका छन् । १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु शनिवार भक्तपुरको चाँगुनारायण पुगेका हुन् । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु विधि एवम रितले उपत्यकाका अन्य नदी तलाउमा पूजापाठ तथा स्नान गर्छन्।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

मन्त्रोच्चारण गरेपछि शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।

खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण आइपुगेका व्रतालुहरुहरु भोलि शालीनदी फर्कने छन् । स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

माधव नारायणलाई विभिन्न स्थानको दर्शन गराउने काम तिथिअनुसार हुन्छ । यसलाई माधवनारायणको ‘परदेश यात्रा’ भनिन्छ । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

Logo