काठमाडौं । देउसीभैलो भन्ने वित्तिकै हिन्दु नेपालीहरुको महानचाड वडा दशैं पछिको दोस्रो पर्व तिहार भन्ने बुझिन्छ । तर, तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा परापुर्वकाल देखी मनाउदै आइएको छ । साथै, तिहार मनाउनुका विभिन्न आधार पनि छन् ।
धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धार्मिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बली शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाकहाँ गए ।
राजा बलिले तिमी यति सानो मान्छे किन भिक्षा मागेर हिँड्छौं । मेरो आधा राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ ? म यत्रो सानो राज्य के गर्नु ? बरु मलाई तीन पाईला जमिन दिनुहोस् । त्यति भए मलाई पुग्छ भने । राजा बलिले हुन्छ भने । भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पाइला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाइला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाइला टेक्ने ठाउँ भएन । भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखुँ भनेर सोधे ।
बलिराजाले कहीँ ठाउँ नदेखे पछि मेरो शिरमा राख्नुहोस् भने । भगवान विष्णुले देउ शिर भने । एउटा पाइला शीरमा राखे । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसिरे भन्न थालिएको धार्मिक मान्यता छ । यस्तो धार्मिक तथा एतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृती परम्परालाई भुल्दै गएको देखिन्छ । यो अत्यन्तै दुखको कुरा हो ।
लक्ष्मीपूजाको दिन भैलो र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने हिन्दु नेपालीहरुको मौलिक धार्मिक परम्परा हो । तिहारको रमाइलो र रोनक नै देउसी भैलोमा रहेको छ । तर, पछिल्लो समय देउसीको नाममा विभिन्न ब्यान्ड र बाजागाजाका साथ गाइने आधुनिक गितले देउसीभैलोको मौलिकपन विस्तारै लोप हुँदै गएको छ ।
साच्चै भन्ने हो भने विगतका केही दशक देखीका नयाँ पिडीहरुले आफ्नो देशमा आफ्नो धर्म अनुसार मानाइने चाड र त्यसले यर्थाथमा मौलिकता झल्कने गरी खेलीने देउसी भैलो नजिकबाट देख्न पाएका छैनन् । यस्तो अवस्थामा अबको केही बर्षमा यस्तै स्थित कायम रहने हो भने हाम्रो चाडपर्वले कुन रुप लिदै जाने हो भन्ने बारे अत्यन्तै चिन्ताको विषय बनेको छ ।
झिलिमिली साँझमा घरको दैलोमा आएर भैलो खेल्ने, आँगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।अझ सहरी क्षेत्रमा त लक्ष्मीपूजा वा गोवद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ भई सकेको हुन्छ । जसमा चलचित्रका गीत, माया पिरतिका गीत, पप, र्याप गीत गाउने गएर देउसी भैलो खेल्ने गरेको देखिन्छ ।
राजधानी काठमाडौंमा मात्र नभइ पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडा जस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलोमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलोमा नेपालीपन मासिँदै जाने जोखिम बर्षै पिच्छे थपिदै गएको देख्न सकिन्छ ।































प्रतिक्रिया