महेन्द्रनगर । उपराष्ट्रपति नन्द बहादुर पुनलाई अभिनन्दन गरिएको छ । बेदकोट धार्मिक महोत्सव उद्घाटनका लागि कञ्चनपुर आएका उपराष्ट्रपति पुनलाई भीमदत्त नगरपालिकामा अभिन्दन गरिएको हो ।
भीमदत्त नगरपालिकाले वडा नं. १३ झोलुङ्गे पुलमा स्वागत तथा अभिनन्दन कार्यक्तम गरी सबै नगरवासीका तर्फबाट उपराष्ट्रपति पुनलाई अभिनन्दन गरेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उपराष्ट्रपति पुनलाई अभिनन्दन पत्र प्रदान गरे ।
अभिनन्दन कार्यक्रममा उपराष्ट्रपतिकी धर्मपत्नि, कञ्चनपुर क्षेत्र नं. ३ का सांसल डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा, नेकपा सुदूरपश्चिम प्रदेशका सचेतक तारालामा तामाङ, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य मान बहादुर सुनार, महाकाली नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार, नगर उपप्रमुख चिनी गिरी, बेदकोट नगरपालिकाका नगर उपप्रमुख शुशिला सिंह लगायतको उपस्थिति रहेको थियो ।
उपराष्ट्रपति पुनः र उनकी धर्मपत्निलाई दोसल्ला ओढाएर सम्मान गरेपछि उपराष्ट्रपति पुनःलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा भीमदत्तका नगर उपप्रमुख सुशिला चन्द सिंह र वडा नं. १३ का वडा अध्यक्ष शाहीले उपराष्ट्रपति पुनः र उनकी धर्मपत्निलाई मायोको चिन्ह प्रदान गरे ।
अभिनन्दन अघि उप राष्ट्रपति पुनले झोलुङ्गे पुल स्थलगत अवलोकन गरे । सम्बोधनका क्रममा उनले झोलुङ्गे पुलमा हिँड्न पाएको खुसी व्यक्त गरे । ‘मैले यो धर्तीमा पाइला टेक्न पाए, यो भीमदत्त पन्तको जन्मभूमि हो, यो भूमिमा पाइला टेक्न पाएकोमा गर्व महसुस गरेको छु’ उनले भने, ‘यो पुलबारे सुनेको थिए, हेर्न पाए, यसको मर्मत सम्भार गर्न जुट्नु पर्ने छ ।’
उपराष्ट्रपति पुनले सुदूरपश्चिम क्षेत्र पिछडिएको क्षेत्रका रुपमा विगतमा चिनिने गरिएको उल्लेख गर्दै गणतन्त्र स्थापनापछि सन्तुलित पहुँच पुगेको उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेश ठूलो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले ती सम्भावनाको प्रयोगमा जोड दिए । स्थानीय सरकारका जनप्रतिनिधिको काम सहकार्य र समन्वयकारी देखिएकोमा खुसी व्यक्त गर्दै उनले सिहदरबारको अधिकार गाउँघरसम्म पुगाउने अभियान जारी रहेको बताए ।
कार्यक्रममा राना थारु समुदायका युवतीले आफ्नो साँस्कृतिक नाच देखाए । बुधबार विहान महेन्द्रनगर पुगेका उपराष्ट्रपति पुन अभिनन्दन कार्यक्रम अघि शुक्लाफाँटा राष्ट्रिपति निकुञ्जमा अवलोकन गरेका छन् ।
बिहीबार उपराष्ट्रपति पुनले बेदकोट धाममा बेदकोट धार्मिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।





























प्रतिक्रिया