काठमाडौं ।
चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको भगिनी शहर ल्हासाले काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक उपहार दिएको छ । ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ, नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातावरण सफा र स्बच्छ होस्, सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् । ‘२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ गुहेओ आउनुभएको थियो ।’ ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमि उल्लेख गर्दै मेयर शाक्यले भने,‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताएका थिए । त्यसै बमोजिम उनले २ थान ट्रक उपहार पठाएका हुन् ।
यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपुर्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपुर्याइएका हुन् ।
आज महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका छन् ।





























प्रतिक्रिया