नेकपा कार्यदलमा अझै भएन सहमति

नेकपा कार्यदलमा अझै भएन सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकता सम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।

नेकपाको सचिवालयको गत सोमबारको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो । कार्यदलले सो एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर कुन कुन विषय सहमति भएको हो, कुन कुनमा असहमति भएको हो र कहिलेसम्म टुङ्गोमा पुगिन्छ भन्नेमा कार्यदलका सदस्यहरु नै स्पष्ट हुन सकेका छैनन् ।

कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यकाबाहिर रहेको र कार्यसूचीमा मतभिन्नता अन्त्य हुन नसकेका कारण प्रतिवेदन तयार नभएको बुझिएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भएको भेटवार्तामा विवादित विषयलाई चाँडो सहमति गरेर देशव्यापी पार्टी एकताको सन्देश दिने समझदारी भएपनि कार्यदलमा त्यसको सकारात्मक प्रभाव परेको देखिएको छैन ।

पार्टीका महासचिव विष्णु पौडेलले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्षहरुबीच भेनेजुएलाका विषयमा कुनै विवाद नरहेको स्पष्ट पारिसक्नु भएको छ । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि शनिबार शीर्ष नेताबीचको संयम र पार्टी एकताको ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पूरा गर्न आह्वान गर्नुभएको थियो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा तीन महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरुको व्यस्तता, शीर्ष नेताको छलफल हुँदै पार्टी सचिवालय, स्थायी कमिटी वा कार्यदललाई जिम्मेवारीका नाममा तल्ला कमिटीको एकता लम्बिएको छ । एकता चाँडो पूरा नहुँदा सरकार र पार्टीबीच एकरुपता कायम हुन नसकी नेता कार्यकर्ताहरु जिम्मेवारीविहीन भएको गुनासो सुनिएको छ ।
रासस

Skip This
Skip This
Logo