युक्रेनमा तनाव नबढाउन पुटिनलाई ट्रम्पको चेतावनी

युक्रेनमा तनाव नबढाउन पुटिनलाई ट्रम्पको चेतावनी

केन्द्रबिन्दु
102
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेकाे द वासिङ्टन पोस्टले आइतबार बताएको छ ।

डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गरेकाे समाचारमा उल्लेख छ ।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेको छ, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।”

ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएको नाम नछाप्ने आधारमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ । उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गरेका थिए ।

ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गरेकाे र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत भएको’ सोल्सका प्रवक्ताले बताए ।

ट्रम्पले लडाईं चाँडै अन्त्य गर्न जोड दिँदै किएभका लागि वासिङ्टनको अर्बौं डलर सहयोगमा शङ्का व्यक्त गर्दै आएकाले उनको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ । -एएफपी

Skip This
Skip This
Logo