काठमाडौं । नेपाल पहिलोपटक आइसीसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको छ । एसिया छनोट अन्तर्गत आज भएको अन्तिम खेलमा युएईलाई हराउँदै नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
युएईको अजमानस्थित द सेभेन रङ्गशालामा ८४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन । तर, आज फराकिलो जितसहित युएईलाई रनरेटमा पछि पार्न नेपाली युवा महिला टोली सफल रह्यो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । तर, नेपालले १० बलअघि नै पूरा गर्न सफल भयो । नेपालले ६ खेलबाट १० अंक जोड्यो । समान अंक भएको यूएई नेटरनरेटमा झिनो अंकका साथ पछाडि पर्यो । नेपालको रनरेट ३.९ रहदा युएईको ३.७ रह्यो।
नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन् । उनले ४२ बलको सामना गरिन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियाे ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले सर्वाधिक ३१ रन जोडिन् । ४८ बलको सामना गरेकी उनले उक्त रन बनाएकी हुन् । यसैगरी रिनिथा रञ्जिथाले २० रन तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १०/१० रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । यसैगरी रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए ।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो ।





























प्रतिक्रिया