(ज्ञानमणि नेपाल कालोटोपी)
कथाकार किशोर पहाडीको पछिल्लो कथासंग्रह ‘रोजा कथाहरु’ हात परेदेखि नै निकै कौतुहल लागिरहेको थियो । के होला यसमा भनेर । नयाँ कृतिमा खास के छ भन्ने उत्सुकता लाग्नु एउटा पाठकका लागि पक्कै पनि स्वभाविक कुरा हुने नै भयो । यसै भएर होला कथाका पानाहरु पल्टाइ सकेर केही लेख्ने जाँगर पनि चलेको छ ।
रोजा कथाहरुमा ३१ वटा छोटा लामा कथाहरु समावेश गरिएका छन् । सबै कथाहरु वजनदार नै छन् । सबैले केही न केही सन्देश पनि दिन खोजेका छन् । समाजमा हुने गरेका, हुन सक्ने र भइरहेका जति पनि घटनाक्रमहरु छन् ती सबैलाई लेखकले क्रमैसँग कथाका रुपमा उतारेका छन् । पढ्दै गर्दा लाग्छ, यी कथा मात्र होइनन्, मान्छेको जिन्दगीमा आउने गरेका वास्तविकता पनि हुन् । कतै त लाग्छ , लेखकले आफ्नै भोगाई पनि कथाका रुपमा उतारेका पो हुन् कि।
अचानक कथाले समाजमा व्याप्त शासकको हठ र जिद्दीपना तथा घमण्डलाई घतलाग्दो पाराले उतारेको छ । अबोध कथाले बालबालिकाको कलिलो दिमागले अभिभावकले भनेका कुराहरुलाई सहजै पत्यार गर्ने र बालबालिकालाई झुटो बोल्ने अभिभावकहरु सचेत हुनुपर्ने शिक्षा दिएको छ ।
छोराछोरीका मागलाई विभिन्न बाहाना बनाएर पन्छिने बाबुआमाहरुको प्रतिनिधीका रुपमा उदय र बालसोचाईको प्रतिनिधी उसकी सानी छोरी उमाले गरेकी छन् । यस्तै अर्धाङ्गिनी र सिपाही कथामा समाजमा वैदेशिक रोजगारी बाध्यता भएको र यसले विकृति पनि उस्तै भित्र्याएको प्रसंगको रोचक प्रस्तुती पाइन्छ । श्रीमान वा श्रीमती मध्ये एउटाको अनुपस्थितीमा उनीहरु परपुरुष वा परस्त्रीसँग कसरी लसपस हुन सक्छन् भन्ने उदाहरणको रुपमा यो कथा रहेको छ ।
मोटरसाइकल किनेको सानो कथावस्तुले मानव हठसँगै आउने समस्या र अरुको सामानमा मोजमस्ती गर्ने आफन्तको मनोवृत्ति देखाउन उत्कण्ठा कथा सफल भएको छ । खिसी कथाले शहरमा गएपछि त के के न पाइन्छ भन्ने सोचाई भएर शहर छिरेपछि अभावको जिन्दगी जिउन बाध्य हजारौंको दैनिकीलाई प्रकाश पारेको छ । खुर्पा र आत्महत्याको सम्भावना, जाँड र जाँडको कीरा, निकटता, पराजित, मुस्कान, यन्त्र, रस, शहरको एउटा बङ्गला लगायतका कथाहरु पनि कम रोचक छैनन् ।
“आत्महत्या गर्नुपर्ने के त्यस्तो घटना परेको थियो ? किन आत्महत्या गरेको रघुले ? तर लाग्यो, घटना हैन, दुर्घटना परेको थियो । ऊ जन्मनु दुर्घटना थियो । त्यसपछि बाँच्नु दुर्घटना भयो, अनि पढ्नु दुर्घटना, जागिर खोजेर नपाउनु दुर्घटना–दुर्घटनै दुर्घटना । यस्तो मान्छेले जाँड खानु र आत्महत्या गर्नुबाहेक के नै गरोस त ?” – कथा जाँड र जाँडको कीराबाट ।
डोरी कथाले शौचालयको ढोकामा चाहिने चुकुल नहालेर डोरी बाँधेर यसलाई सामान्य सोच्दा त्यही सामान्य वस्तुको अभावले पनि कति समस्या आउन सक्छ भन्ने विषयलाई साह्रै मार्मिक ढंगले दर्शाएको छ । यसरी हेर्दा रोजा कथाहरु साँच्चै नै रोचक लाग्छन् । साना विषयहरुले पनि ठूलो महत्व पाएका छन् । अनि समाजलाई सहि मार्गमा हिड्न सिकाउँछन् ।
यति भएर पनि कतै कतै भने भाषाशैली बुझ्न पनि समस्या नै पर्ने पनि छन् । केही कथामा विषयवस्तु र शिर्षकवीच तालमेल नमिलेको जस्तो पनि लाग्न सक्छ । कतै कतै व्याकर कमीकमजोरी पनि कथामा भेट्न सकिन्छ । त, भनिन्छ शत प्रतिशत शुद्ध त सुन पनि हुँदैन । लेखनशैली हो, कतै कमीकमजोरी हुनु स्वभाविक पनि त हो भन्ने हो भने समग्रमा कृति उत्कृष्ठ बनेको छ ।
शिखा बुक्सले बजारमा ल्याएको यसको मुल्य ३५० राखिएको छ ।





























प्रतिक्रिया