‘फीन इलेक्ट्रो टेक २०२४’ को तेस्रो दिन आज पनि जारी

‘फीन इलेक्ट्रो टेक २०२४’ को तेस्रो दिन आज पनि जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ तेस्रो दिन आज पनि जारी छ ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूले आज पनि अवलोकन गर्न सक्ने छन् ।

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको यस बृहत् मेलामा विद्युत्का सम्पूर्ण सामग्रीहरू उपलब्ध रहेका छन् । उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको मेला धेरैको आकर्षणमा परेको देखिन्छ ।

अर्किडको इन्फ्रारेड विद्युतीय चुल्हो, ट्रान्सवेल्ड ट्रान्सफर्मरले राखेको ४ हजार केभीएको विद्युत् ’ट्रान्सफर्मर’ लगायतका सामग्री आम अवलोकनकर्ताको आकर्षणमा छन् ।

‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन कात्तिक ३० गते ९ हजारबढीले अवलोकन गरेका थिए । दोस्रो दिनको मेलामा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि अवलोकन गरेका थिए । उनले अवलोकनका क्रममा यस मेलाले नेपालको विद्युतीय सामग्री प्रयोग गर्न र प्रोत्साहनमा मद्दत गर्ने बताएका थिए ।

इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले महासंघले मेलाको आयोजना गरेको यस मेला अवधिभर ५० हजारबढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ ।

यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ । फीन इलेक्ट्रो टेकमा हलभित्र र बाहिर गरी ९८ वटा पेभिलियन तथा स्टलहरू रहेका छन् ।

Logo